उदयपुर : उदयपुरमा तीन महिनाको अवधिमा ५० बढी लैङ्गिक हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) उदयपुरले गत अप्रिलदेखि जुन २०२६ सम्म सङ्कलन गरेका घटनाको त्रैमासिक विश्लेषणअनुसार ५३ वटा लैङ्गिक हिंसाका घटना भएका हुन्।
अभिलेखीकरण गरिएका घटनामध्ये ८३ दशमलव ०२ प्रतिशत घरेलु हिंसासँग सम्बन्धित छन् । ओरेक उदयपुर कार्यालयमा प्रत्यक्ष रूपमा आएका, सुरक्षा आवासबाट सेवा लिएका महिला तथा किशोरी र समुदाय तथा फिल्डस्तरबाट प्राप्त घटनालाई आधार बनाएर गरिएको विश्लेषणमा ५३ मध्ये ४४ वटा घरेलु हिंसा, ६ वटा यौन हिंसा र ३ वटा सामाजिक हिंसाका घटना रहेका छन् ।
ओरेक उदयपुरका संयोजक बाला कार्कीका अनुसार कुल घटनामध्ये घरेलु हिंसा ८३ दशमलव ०२ प्रतिशत, यौन हिंसा ११ दशमलव ३२ प्रतिशत र सामाजिक हिंसा ५ दशमलव ६६ प्रतिशत छन् ।
कार्कीका अनुसार घरेलु हिंसाअन्तर्गत शारीरिक हिंसा गालीगलौज, चरित्रमाथि आरोप, धम्की, मानसिक हिंसा तथा स्रोत–सुविधाबाट वञ्चित गराउनेजस्ता घटना रहेका छन् ।
यसले महिलामाथिको हिंसा शारीरिक आक्रमणमा मात्र सीमित नरहेको र उनीहरूको स्वायत्तता, निर्णय क्षमता, आत्मसम्मान तथा अधिकारमाथि नियन्त्रण गर्ने विभिन्न स्वरूपमा समेत भइरहेको देखाएको ओरेकको विश्लेषण छ ।
ओरेकका अनुसार महिलालाई नै हिंसाका लागि जिम्मेवार ठहराउने प्रवृत्ति, हिंसाबारे बोल्दा परिवार तथा समाजबाट हुने लाञ्छना, सामाजिक प्रतिष्ठाको दबाब र हिंसा सहन बाध्य बनाउने पितृसत्तात्मक सोचका कारण धेरै घटना अझै पनि घरभित्रै सीमित छन् ।
हिंसालाई सामान्य ठान्ने सामाजिक मान्यता, परिवारको ‘ इज्जत’ जोगाउने नाममा मौनता थोपर्ने प्रवृत्ति, आर्थिक निर्भरता र स्रोतमा असमान पहुँचले हिंसाको चक्रलाई थप बलियो बनाएको संस्थाको निष्कर्ष छ ।
विश्व स्वास्थ्य सङ्गठनले समेत लैङ्गिक असमानतालाई महिलामाथि हुने हिंसाको मूल कारणका रूपमा औँल्याउँदै महिलाको स्वायत्तता सीमित गर्ने, पुरुषको प्रभुत्व तथा नियन्त्रणलाई सामान्य बनाउने अस्था छ ।
असमान लैङ्गिक भूमिकालाई कायम राख्ने सामाजिक मान्यतालाई हिंसाका महत्वपूर्ण सामाजिक तथा संरचनागत कारकका रूपमा पहिचान गरेको ओरेकले जनाएको छ ।
ओरेकले लैङ्गिक हिंसा न्यूनीकरणका लागि हिंसा भइसकेपछि प्रतिक्रिया जनाउने कार्यमा मात्र सीमित नभई यसको मूल कारणका रूपमा रहेका पितृसत्तात्मक सामाजिक संरचना, असमान शक्ति सम्बन्ध र महिलाप्रतिको विभेदकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको जनाएको छ ।
महिला तथा किशोरीको अधिकार, सम्मान, समानता र न्याय सुनिश्चित गर्ने उद्देश्यले ओरेकले सामुदायिक संस्था, महिला समूह, युवा तथा किशोरी समूह र समान उद्देश्य भएका संघ–संस्थासँग समन्वय गर्दै हिंसाका घटनाको अभिलेखीकरण, विश्लेषण, सेवा प्रवाह तथा सार्वजनिक पैरवी गर्दै आएको जनाएको छ ।
















Discussion about this post