धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी पदभार सम्हालेको छ।
बुधबार धरान किचेनमा आयोजित प्रमाणपत्र वितरण तथा शपथ ग्रहण समारोहमा सभापति राईसहित उपसभापति हिमाल श्रेष्ठ, महिला उपसभापति शिला बज्राचार्य, सचिव सागर प्रसाई र कोषाध्यक्ष शिखा चेम्जोङ लिम्बुले निर्वाचन अधिकृत विष्णु बरालबाट शपथ ग्रहण गरेका हुन्। अन्य कार्यसमिति सदस्यहरूले पनि सामूहिक रूपमा शपथ लिएका छन्।
निर्वाचन अधिकृत बरालका अनुसार विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने केही सदस्य पदमा उम्मेदवारी नपरेकाले ती पदहरू पछि कार्यसमितिबाट मनोनयन गर्ने गरी खाली राखिएको छ।
कांग्रेसको नगर समितिको निर्वाचन कार्यक्रमअनुसार मंगलबार धरान सभागृहमा उम्मेदवारी दर्ता भएको थियो । यसअघि धरानका २० वटै वडामा क्षेत्रीय प्रतिनिधिसहित वडा कार्यसमितिको निर्वाचनसमेत निर्विरोध भएको थियो।
शपथ ग्रहणपछि सभापति राईले वडा तहदेखि नगर अधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयन हुनु कांग्रेसको १५औँ महाधिवेशनका लागि सकारात्मक सन्देश भएको बताए।
उनले धरान कांग्रेसमा गुटबन्दी अन्त्य गर्दै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई गुटबन्दीका कारण असर नपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
राईले यसअघिको स्थानीय निर्वाचनमा नगर प्रमुखका उम्मेदवार किशोर राईको पराजय कांग्रेसभित्रकै कारण भएको दाबीसमेत गरे।
















Discussion about this post