विराटनगर : नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका विद्यार्थी तथा सरोकारवालालाई विद्युतको सुरक्षित प्रयोग, विद्युतीय दुर्घटना न्यूनीकरण तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख जितेन्द्रकुमार झाले विद्युत आधुनिक जीवनको अत्यावश्यक साधन भए पनि सामान्य असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताए।
उनले विद्यार्थीलाई विद्युतका तार, पोल, ट्रान्सफर्मर तथा विद्युतीय उपकरणसँग अनावश्यक सम्पर्क नगर्न र विद्युतीय जोखिम देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।
उनले विद्युतको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान विद्यार्थी तहदेखि नै विकास गर्न सके विद्युतीय दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। विद्युत चुहावट, नाङ्गा तार, भिजेको हातले विद्युतीय उपकरण चलाउने तथा क्षतिग्रस्त तार र उपकरण प्रयोग गर्ने जस्ता कार्यबाट दुर्घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका राम उदगार साह तथा झोराहाटका इन्चार्ज दिव्यप्रसाद खतिवडाको उपस्थिति रहेको थियो।
प्रशिक्षकहरू सुवोध ठाकुर, प्रविण पौडेल र रामशंकर यादवले विद्युतीय सुरक्षा, विद्युतीय उपकरणको सुरक्षित प्रयोग, दुर्घटनाबाट बच्ने उपाय तथा दुर्घटना भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीका विषयमा प्रशिक्षण दिए।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको थियो। सहभागीले विद्युतको सुरक्षित प्रयोग तथा दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी प्राप्त गरेका थिए।
कार्यक्रम सञ्चालन दीपक नेपालले गरेका थिए। सहभागीले विद्यालयस्तरमा आयोजना हुने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा समुदायमा विद्युतीय सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

















Discussion about this post