उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब १०ः२५ बजे फिलिम हलनजिक पानी बोकेको पिकअप गाडीलाई पछाडिबाट सिटी सफारीले ठक्कर दिँदा सफारीमा सवार त्रियुगा नगरपालिका–१ की रागिनी सदाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले दिउँसो १२ः५६ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको को प्र.०५–००१ च ०१९० नम्बरको पिकअपलाई सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको इलेक्ट्रिक सिटी सफारीले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा सिटी सफारीमा सवार अन्य चार जनामध्ये त्रियुगा नगरपालिका–९ की ७० वर्षीया कन्नी सदा सामान्य घाइते भएकी छन् । अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिएको छ । पिकअप चालक त्रियुगा नगरपालिका–९ का २९ वर्षीय अरुण राई र सिटी सफारी चालक सोही वडाका ३३ वर्षीय जनक कटवाल रहेका छन् ।
प्रहरीका अनुसार सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















Discussion about this post