धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रयोगशाला परीक्षणको रिपोर्ट लिन सहज बनाउने उद्देश्यले स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याइएको छ ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको मेसिनको सोमबार उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मेसिनबाट सेवाग्राहीले प्रयोगशाला परीक्षण गराउँदा प्राप्त बिलमा रहेको बारकोड स्क्यान गरेर केही सेकेन्डमै आफ्नो रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् । यसका लागि रिपोर्ट वितरण काउन्टरमा पुगेर कर्मचारीसँग रिपोर्ट माग्नुपर्ने बाध्यता हट्ने प्रतिष्ठानले जनाएको छ ।
यसअघि बिरामीको चापका कारण रिपोर्ट लिन सेन्ट्रल ल्याबको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने अवस्था थियो । अत्यधिक भीडले रिपोर्ट खोज्न र वितरण गर्नसमेत कठिनाइ हुने गरेको थियो । स्वचालित मेसिन सञ्चालनमा आएसँगै सेवाग्राहीको समय बचत हुनुका साथै काउन्टरमा हुने भीडभाड र रिपोर्ट वितरणमा हुन सक्ने मानवीय त्रुटि कम हुने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानले अस्पताललाई क्रमशः डिजिटल तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत मेसिन जडान गरेको जनाएको छ । यसबाट दैनिक उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तलाई रिपोर्ट संकलनमा सहजता हुने विश्वास प्रतिष्ठानको छ ।















Discussion about this post