उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका २२८ विपन्न मुसहर (सदा) परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले दसैँ खर्च वितरण गरेको छ ।
आर्थिक अभावका कारण दसैँ, तिहारजस्ता ठूला चाडपर्व मनाउन कठिन हुने अति विपन्न मुसहर समुदायलाई लक्षित गरी नगरपालिकाले सामाजिक सुरक्षाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममार्फत नगरपालिकाले कुल ६ लाख ८४ हजार रुपैयाँ वितरण गर्ने जनाएको छ ।
सोमबार आयोजित कार्यक्रममा वडा नं. ५ का १००, वडा नं. ९ का ४४ र वडा नं. १० का २३ परिवारलाई रकम हस्तान्तरण गरिएको छ । वडा नं. २ का ६१ मुसहर परिवारलाई भने मङ्गलबार रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
‘चौदण्डीगढी नगरपालिकाको मुसहर (सदा) समुदायलाई दसैँ खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ अनुसार नगरभित्र स्थायी बसोबास गर्ने अति विपन्न परिवारलाई चाडपर्व मनाउन सहज बनाउने उद्देश्यले रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशनी देवी कार्कीले बताइन् ।
नगरप्रमुख कालुमान लामाले मुसहर समुदायको आर्थिक अवस्था र चाडपर्व मनाउन भोग्नुपर्ने कठिनाइलाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए । नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये मुसहर समुदायलाई लक्षित गरी यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन गरेको दाबी गरेको छ ।
दसैँ खर्च पाएपछि मुसहर समुदायका सदस्यले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी श्यामकुमारी सदाले नगरपालिकाको सहयोगले आफूहरू निकै हर्षित भएको बताइन् । सरिता सदाले प्राप्त रकमबाट दसैँमा बालबालिकाका लागि नयाँ कपडा किन्ने योजना रहेको सुनाइन् ।
नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार चौदण्डीगढीमा ५१५ महिला र ५०९ पुरुष गरी कुल एक हजार २४ जना मुसहर (सदा) समुदायका नागरिक छन् ।















Discussion about this post