उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा १५० जना विद्यार्थीमा मोतियाबिन्दुको समस्या देखिएको छ।
शिविरमा परीक्षण गरिएका १ हजार ४ सय जनामध्ये करिब ११ प्रतिशतमा मोतियाबिन्दु पुष्टि भएको हो।
विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणलाई लक्षित गरी त्रियुगा नगरपालिका र चौदण्डी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो। बुधबार उद्घाटन भएको शिविर शुक्रबार सम्पन्न भएको हो।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शिविरबाट १ हजार ४ सय जनाले आँखा परीक्षण तथा उपचार सेवा पाएका छन्। सेवा प्राप्त गर्नेमा ८ सय ५ जना विद्यार्थी रहेका छन् भने अन्य अभिभावक, शिक्षक र स्थानीय सर्वसाधारण छन्।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाको व्यवस्था गरिएको छ। दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौदण्डी आँखा अस्पताल लहान पठाइएको कार्कीले बताए।
उनका अनुसार शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनाको शल्यक्रिया सम्पन्न भएको छ। शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शनिबारसम्म शल्यक्रिया गर्ने गरी अस्पताल पठाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ। बाँकी ५१ जना बिरामीलाई पनि आवश्यकताअनुसार आइतबारसम्म शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।
शिविरमा चौदण्डी आँखा अस्पताल लहानका चिकित्सक डा. विनय कार्कीको नेतृत्वमा आँखा प्राविधिक टोली परिचालन गरिएको थियो। नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा शिविर उद्घाटन गरेका थिए।
त्रियुगा माध्यमिक विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको छ।
कक्षा ११ र १२ मा विज्ञान, शिक्षा तथा व्यवस्थापन विषय सञ्चालनमा छन् भने कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको प्राविधिक शिक्षा पनि प्रदान हुँदै आएको छ।
विद्यालयलाई आगामी पाँच वर्षका लागि नमुना विद्यालय घोषणा गरी आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा सुविधासम्पन्न संरचना निर्माणका लागि नगरपालिकाले विशेष योजना अघि बढाएको छ।
विद्यालयमै आँखा जाँच तथा उपचार शिविर सञ्चालन भएपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ।
















Discussion about this post