इटहरी : वि.सं. २०६४ सालमा स्थानीय गाउँका बालबालिकालाई घर नजिकै शिक्षा दिने उदेश्यले स्थापना भएको फुजिसान सगरमाथा बोर्डिङ स्कुलमा हाल तीन सय बढी विद्यार्थी छन् ।
इटहरी १९ मा रहेको यो विद्यालयमा कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । लालबहादुर श्रेष्ठले ११ वर्ष जापान बसेर आएपछि विद्यालय स्थापना गरेका थिए । सुरुआती दिनमा नर्सरी र एलकेजीका कक्षामा पढाई हुँदै आएको विद्यालयले अहिले भने विभिन्न दक्ष शिक्षकबाट कक्षा सञ्चालन गर्दै आएको छ ।
यसै सन्दर्भमा विद्यालयको आगामी लक्ष्य, उदेश्य र विद्यार्थीको शैक्षिक स्तरोन्नतिका लागि के कस्तो तयारी छ भन्ने विषयमा केन्द्रित रहेर प्रबन्ध निर्देशक राकेश श्रेष्ठसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–
१. विद्यालय स्थापना हुँदा कस्तो अवस्था थियो ?
यो विद्यालय आजभन्दा १५ वर्षअघि काठको घरबाट सुरुआत भएको हो । बुबा लालबहादुर श्रेष्ठ ११ वर्षसम्म जापान बस्नुभयो । जापानमै रहँदा आफ्नै ठाउँमा शैक्षिक स्तरोन्नतिका लागि लगानी गर्ने सोच बनाउनुभएको रहेछ ।
विश्वको सबैभन्दा ठूलो सगरमाथा आफ्नै देशमा रहेका कारण फुजिसान सगरमाथा नाम राखेर विद्यालय सुरु गरिएको हो ।
बुबामा शिक्षा क्षेत्रको लगाव र समाजमा केही काम गरौँ भन्ने हुटहुटी भएकै कारण विद्यालय स्थापना भएको हो । सुरुआती दिनमा इजाजत लिन पनि निकै मुस्किल थियो । तर, चुनौतीलाई सहजै स्वीकार गर्दै बालबालिकाले ध्वनिरहित र प्राकृतिक अध्ययन गर्न पाउनुपर्छ भनेर विद्यालय स्थापना गरिएको हो ।
२. विद्यालयको स्तरोन्नतिका लागि शिक्षक, अभिभावक र समुदायको कस्तो भूमिका छ ?
समाजभित्रै अभिभावक र विद्यार्थी हुनुहुन्छ । स्कुल यो प्रकारको हुनुपर्छ र यी पाठ्यक्रमका कुरा बढी सिकाइनुपर्छ भनेर अभिभावकले भनेकै आधारमा हामीले शिक्षा प्रदान गर्दै आएका छौँ ।
यस किसिमले हेर्दापनि अभिभावकमा सन्तुष्टि देखिन्छ । सुरुआती दिनमा यहाँ विद्यालय स्थापना गरिदाँ राज्यका लागि केही गर्न खोजिदैँछ भनेर समाजकै अभिभावक र गाउँलेको भूमिका अब्बल रह्यो । अभिभावक सन्तोषजनक रहेको हामीले पाएका छौं, यसले पनि हौसला मिलेको छ ।
३. अहिले कति विद्यार्थी अध्ययनरत छन्, पाठ्यक्रम बाहेकका सिकाई केके हुन्छन् ?
अहिले करीब ३ सय विद्यार्थी हुनुहुन्छ । हामी छिट्टै नै कक्षा १२ सम्म अध्यापन गर्ने योजना बनाएका छौँ । खासगरी भन्ने हो भने हामीले शिक्षाको ‘प्यार्टन’ परिवर्तन गरेका छौँ । पाठ्यक्रमकै सिकाइमा पनि हामीले प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएका छौँ ।
जस्तैः कुनै पाठमा नाटकको विषय उठान गरिएको छ भने हामी दक्ष कलाकार नै ल्याएर कक्षा सञ्चालन गर्दै आएका छौँ । सिकाइका क्रियाकलापमा नाट्य, बाध्य बाधन, कृषि र प्रविधिमा जोड दिने कुरामा हामी सक्रिय छौँ । विशेषतः अबको शिक्षा कृषि र प्रविधिमैत्री हुनुपर्छ भन्ने हाम्रो जोड छ ।
व्यवहारिक शिक्षाका कारण भविष्यमा एउटा विद्यार्थीले आत्मनिर्भर बन्न सक्छ । सोही अनुरुप हामीले व्यवहारिक शिक्षा प्रदान गर्दै आएका छौँ ।
४. विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?
माथि पनि कुरा आइसकेको छ । हामीले खासगरी प्रयोगात्मक कुरालाई जोड दिदैँ आएका छौँ । हामीले गत वर्ष धान दिवसको दिन धान रोपेका थियौँ । विद्यार्थीहरू स्वयम्ले धान रोप्ने, गोड्ने, काट्ने, छाँट्ने र बजारसम्म पु¥याउने कुरामा अग्रसर छन् ।
यसका लागि हामीले सहजीकरण गरेका छौँ । यो एउटा उदाहरण मात्रै हो । यस्ता, थुप्रै प्रयोगात्मक, व्यवहारिक सिकाइका कारण हामीकहाँ विद्यार्थी आकर्षित भइरहेका छन् । पाठ्यक्रममा मात्रै कनेक्ट गराउने नभइ कृषि र प्रविधिका कुरामा हाम्रो प्राथमिकता छ ।
५. शिक्षक, विद्यार्थीको अनुपात मिलेको छ ?
शिक्षक र विद्यार्थीको अनुपात मिलेको छ । विद्यार्थीको चाहनाअनुसार शिक्षकले सिकाउनुहुन्छ । कतिपय शिक्षकको चाहना अनुसार पनि विद्यार्थीले सहजै सिकेको पाएका छौँ । यसले हामीलाई थप जिम्मेवार पनि बनाएको छ ।
६. भौतिक पूर्वाधार अपांगमैत्री छ कि छैन?
हामीकहाँ भौतिक पूर्वाधार बालमैत्रीसँगै अपांगमैत्री रहेका छन् । भवनका तल्लो तलामा अपांगमैत्री भवन छन् । जहाँ विद्यार्थीलाई सिकाईसँगै खेलकुदका गतिविधिमा सक्रिय रहन सहज हुन्छ ।
७. विद्यालयको अबको योजना के छ ?
शिक्षण सिकाइमा परिवर्तन आउनुपर्छ भन्ने हाम्रो कुरा हो । सुनाइ, पढाइ, बोलाइ र लेखाइका कुरामा आधारित रहेर थप निखारपन ल्याउनका निम्ति हामीले लगानी गर्दै आएका छौँ ।
विद्यार्थीहरूले कतिको बोलिरहेका छन् भनेर हामी भिडियो खिचेर राख्छौँ । ‘बेसिक’ लेभलबाटै सिकाइरहेका छौँ । खासगरी शिक्षक, शिक्षिकाका लागि व्यवसायिक विकास गर्न विद्यालयले छुट्टै बजेट विनियोजन गरेको छ । विद्यार्थीलाई कौशलतापूर्वक व्यवहार गर्नुपर्ने हुन्छ ।
त्यस क्षेत्रका लागि बजेट नै छुट्याएका छौँ । शिक्षाको क्षेत्रमार्फत समाज परिवर्तन र सुधार गर्ने नीति ल्याइ उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षक, शिक्षिकाले भविष्यमा एक लाख सम्म तलव खान बाहिर जानुपर्दैन ।
अब समाजले पनि शिक्षा क्षेत्रलाई सम्मानजनक व्यवहार गर्न आवश्यक देखिन्छ । शिक्षा पेशालाई आकर्षित गर्न हामीले प्रोत्साहन गर्ने गरेका छौँ । अहिले समाजको दृष्टिकोणमा शिक्षक भनेको अन्य कहिँ जागिर नपाएर अन्तिममा निजी विद्यालय गएको भन्ने गलत ‘कन्सेप्ट’ छ, त्यो कुरा चिर्न हाम्रो ‘फोकस’ रहन्छ ।
शिक्षामा समय परिवर्तनशील छ । स्कुलले पनि सोही अनुसार ‘प्रोग्रेसिभ मोडल’ ल्याउँछ । सीप, संस्कार, प्रविधिलाई प्राथमिकता राखेर हामीले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य राखेका छौँ ।
८. अन्य केही छन् ?
शिक्षक कक्षा जानुभन्दा अगाडि योजना बनाएर काम गर्दै आएका छौँ । साथै, हामीले बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै हेल्थ केयर रुम व्यवस्थित गरेका छौं । त्यहाँ अक्सिजन, ह्वील चियरसँगै प्राथमिक उपचार हुन्छ । सामान्य समस्याका लागि विद्यार्थीहरू घर गइराख्नुपर्ने बाध्यता हटेको छ ।
छात्राहरूमा महिनावारी समस्या हुँदा र कतिपय विद्यार्थीमा टाउको दुख्ने समस्या हुँदा एकछिन ‘बेड रेस्ट’ गरेपछि कक्षा छुट्दैन । जसकारण पनि हामीकहाँ विद्यार्थी आकर्षित हुन्छन् । अब शिक्षण सिकाइ र विद्यार्थीको स्तरोन्नतिका लागि हामी साँच्चिकै लागि परेका छौं ।
Discussion about this post