उदयपुर : उदयपुर, सप्तरी र सुनसरी जिल्लामा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा २०८० सालको असोज महिनामा चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको दुई पोथी गैडाले अहिले भाले खोज्न थालेका छन् । भालेको अभावमा गैडाको वंश विस्तारमा अवरोध आएको छ ।
पुष्पा र अञ्जली नाम गरेका ति दुई गैडाको उमेर अहले ६ वर्ष र साढे पाँच वर्षको छ । कोशीटप्पुमा ल्याउँदा ४ र साढेँ तीन वर्षका थिए । अहिले यी दुबै पोथी गैंडा वयस्क हुँदै गएकोले सन्तान उत्पादन गर्ने उमेरको भएका छन् ।
अहिले भाले खोज्ने उमेर भएकोले कोशी टप्पुमा गैडाको वंश विस्तारका लागि उपयुक्त स्थान र समय पनि भएको छ । ती दुबै पाथीले भाले गैडा खोजी गर्न थालेको उनीहरुको व्यवहारले देखाउन थालेको छ ।
कोशी टप्पुवन्य जन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार तीन वर्षअघि चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट कोशी टप्पुमा ल्याइएका दुई पोथी गैडा अहिले साँढे छ र सात वर्षका भए ।
यिनीहरु दुबैको आमा बन्ने समय भएको छ तर भाले नहुँदा आमा बन्नबाट वञ्चित भएका छन् । दुबै पोथी गैडालाई सप्तरीको कञ्चनरुप नगरपालिकामा पर्ने पथरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको सेक्टरमा सुरक्षित बासस्थानमा राखिएको र उनीहरुका लागि घाँस दानापानी आदि सबै कुराको व्यवस्था गरिएको यादवले बताए ।
प्रमुख संरक्षण अधिकृत यादवले भाले गैंडाकालागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट कृषि वन था पर्यावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेर पत्राचार गरिएको छ । दुबै पोथी गैडाको उमेर हाराहारी जस्तो रहेको छ ।
यो उमेर भनेको प्रजनन प्रक्रियामा अग्रसर हुने उमेर भएकोले र उनीहरुको कृयाकलापले पनि भाले गैंडा खोजेको आभास पाइएको हुँदा माग गरिएको र पर्यटकहरु आकर्षित गर्नका लागि पनि गैँडा चाहिने पनि उनले बताए ।
साँझ बिहान कोशी टप्पुको घाँसे मैदानमा चर्ने र साँझ परेपछि आफ्नो बास स्थानमा फर्कने दुबै पोथी गैडा हात्तीसँग पनि चर्ने गरेको पाइन्छ । गैडाकालागि नितान्त नयाँ ठाउँ हो – टप्पु ।
सुरुमा ल्याउँदा दुबै गैडा केही दिन अलमलिएका थिए तर पछि लयमा आएर अन्य जनावरहरुसँग घुलमिल भएर चर्न थालेको कोशी टप्पु वन्यजन्तु आरक्षकी सूचना अधिकारी प्रतिभा सिवाकोटी बताउँछन्।
गैंडाका लागि पथरी सेक्टरमा १६ फिट अग्लो र ८५ फिट लामो वरपरगर्न सक्ने फराकिलो सुरक्षित खोर बनाइएको छ । बिहानदेखि साँझसम्म चरनमा जान्छन र साँझपरेपछि त्यही खोरमा ल्याएर राखिन्छ । तर अहिले भने ती दुबै पोथी गैंडाले खोर भत्काएर बाहिर निस्कने गरेको हुँदा भाले खोजको संकेत दिएको आभास भएको रेन्जर साहले बताए ।
२०८० साल असोजमा ल्याइएका दुबै पोथी गैंडा प्रजनन उमेरको भएको हुँदा भाले खोजेको जस्तो व्यवहार गर्दैै आएको र चकचकी बढी गर्ने आफू बसेको खोर भत्काउने गरेको छ । दुबै गैंडा पूर्ण जवान भएकोले अब भालेको आवश्यकता देखिएको पथरी सैक्टरका रेन्जर रामजीवन साह बताउँछन ।
दुबै गैंडा सधैँ सँगै चरनमा जाने गरेको र आफ्नो चरन क्षेत्रभन्दा बाहिर नगएकोले अन्य जनावर वा वस्तीमा गएर मानव वा अन्य भौतिक संरचनामा क्षति नगरेको, चितवनमा जस्तो दुःख नदिएको अवस्था छ ।
पोथी गैंडा भएकोले शान्त र सौम्य भएर चरनमा गए पनि खोरमा आएर अत्यन्त पोषिलो खानपिनका कारण र उमेरले गर्दा, बैंश चढ्दै गएपछि भालेको खोजी गरेको संकेत देखिएको प्रमुख संरक्षक यादव बताउँछन् ।
कोशी टप्पु भनेको पर्यटकीय क्षेत्र पनि भएकोले आरक्षको पथरी सेक्टरबाट त्रियुगा नदी पारी जानकालगि त्रियुगा नदीमा बेलीब्रिज लगाउने योजना रहेको जानकारी दिदैं प्रमुख यादवले बेलिब्रिज लगाएपछि बेलका नगरपालिकाको ८ नं वडामा रहेको बेल विच रिसोर्ट जान आउन र होमस्टेहरूमा जान आउन पर्यटकहरुलाई सहज हुने बताए ।
यस क्षेत्रमा पर्यटकहरु अर्ना, बदेल गोही चराचुरुङ्गीहरु हेर्न कोशीमा बोटिङ गर्न आउने भएकोले पर्यटकहरुको सुविधाका लागि पनि बेलिब्रिज आवश्यक रहेको यादवको भनाइ रहेको छ ।
२०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष खासगरी तीन जिल्लालाई समेटेको छ । मुख्य कार्यालय कोशी प्रदेशको सुनसरी जिल्लाको कोशी गाउँपालिकामा महेन्द्र राजमार्गबाट करिब ३ किलोमिटरभित्र बैरवा गाउँको टप्पुमा रहेको छ ।
यो आरक्षले कोशी प्रदेशकै उदयपुर जिल्लाको बेलका नगरपालिकाको केही भाग र मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकको केही भाग ओगटेको छ ।
तीनवटै जिल्लाको कुल १७५ वर्गकिलोमिटर भूभाग ओगटेको कोशी टप्पु वन्यजन्तु आरक्षमा खासगरी अर्ना नै बढी पाइन्छ । अर्नाका अलावा हात्ती, बदेल, मृग, खरायो, स्याल, बाँदर, गोही, वन बिरालो लगायतका विभिन्न जनावरहरुका साथै सयाैेँ प्रजातिका चराचुरुङ्गीहरू पनि पाइन्छन्।
चराको राजधानीकै रुपमा रहेको कोशी टप्पु सिमसार क्षेत्रमा चरा हेर्नकै लागि टाढाटाढाबाट हजारौ मानिसहरू आउने गरेका वन्यजन्तु आरक्षका कर्मचारीहरू बताउँछन्।

















Discussion about this post