इटहरी : अहिले देश कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउनमा छ । लकडाउनका कारण कसैको पनि घर बाहिर निस्कन सक्ने अवस्था छैन । सोही सन्र्दभमा अस्पतालमा परेका विरामीहरु के खाने भन्ने चिन्तामा रहेको विद्यमान अवस्था छ । बिरामी कुरुवाहरुले नजिकै पसल नपाउँनु र घरबाट खाना ल्याउँन सक्ने अवस्था नहुनुले पिरोलिरहेको अवस्था छ । उक्त समस्यालाई नजिकबाट नियालेकी मोरङकी विन्दिया कार्कीले भने बिरामी कुरुवा, बिरामी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सात दिनयता खाना खुवाउँदै आएकी छिन् ।
मोरङको कोशी हस्पिटलमा रहेका बिरामी, बिरामी कुरुवा, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी गरी दिनमा २ सय ५० जनालाई प्रदेशसभा सदस्य समेत रहेकी उनले सातदिनयता साँझमा खाना खुवाउँदै आएकी हुन् । ‘स्थानीय क्यान्टिन पनि बन्द भएका कारण बिरामी, कुरुवा र कर्मचारीहरुलाई साह्रै समस्या छ भन्ने सुनेर खाना खुवाउँन थालेको हुँ,’ कार्कीले टेलिफोन सम्पर्कमा टाकुरासँग भनिन्, ‘घर भएकाहरुलाई त ढिलोछिटो राहत पुग्छ नै, तर अस्पतालमा विरामी भएकालाई भने बिजोग भयो ।’ तरुण दलकी केन्द्रीय पार्षद् समेत रहेकी कार्कीले अन्य मानिसहरुले खाना खाजा पनि खान नपाएको गुनासो गरेपछि खाना खुवाउँन थालेको बताईन् ।
‘सुरु दिनमा १ सय ८० जनालाई खाना खुवायौँ, हिजोदेखि २ सय ५० जना हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले केही दाताहरु पनि सम्पर्कमा आउँनुभएको छ ।’ उनले आँफूहरुलाई पनि कोरोना भाइरसको जोखीम रहेको भएपनि अस्पतालको अवस्था नाजुक भएका कारण खाना खुवाउँन थालेको बताईन् । दाताहरु थपिएका कारण आँफूले सकेसम्म लकडाउन अवधिभरी निःशुल्क खाना खुवाउँने कार्कीको भनाई रहेको थियो । अस्पतालमा रहेका विरामी, बिरामी कुरुवा, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खाना खुवाउँदा विशेष राहत पुगेको उनको विश्वास छ ।
Discussion about this post