विराटनगरको रानीदेखि सुनसरीको धरानसम्म लकडाउनको समयमा पनि निर्माण सुरु भएको छ ।
६ लेन सडक आयोजनाका प्रमुख बद्री शर्माका अनुसार कोरोनाको संकटमा पनि काम सुरु गरिएको हो ।
इटहरीको चोक आसपास तथा सुनसरी मोरङको सिमानामा पर्ने दुहवी क्षेत्रमा पर्ने सडकमा काम भईरहेको शर्माले जानकारी दिए ।
सरकारले निर्धारण गरेको मापदण्डका आधारमा अन्य क्षेत्रमा पनि सडक निर्माणको काम बढाँउदै लगिने उनको भनाई छ । बर्षायाम हुने समय सुरु भईसक्यो, शर्माले भने, यो बर्षायाम भन्दा अगाडि नै धेरै काम सक्न पाईयो भने सहज हुनेथियो ।
मजदुरहरुलाई शारीरिक दूरी कायम गरेर सडक निर्माणका काममा लगाउने गरिएको उनको भनाई थियो । उनका अनुसार सडक निर्माणमा खटिएका मजदुहरुको नियमित ज्वरो जाँच, निर्माण स्थलमा स्यानेटाइजर र हातधुने व्यवस्था गरिएको छ ।
विराटनगरको रानीदेखि सुनसरीको इटहरी २० तरहरा पानिपियासम्म करीब ३९ किलोमिटर सडक निर्माण गर्न १७ वटा टुक्रामा सम्झौता भएर धमाधम काम निर्माण भईरहेको शर्माले बताए ।
सडक विभागका इन्जिनियर सागर बडालका अनुसार यो वैशाखभित्रमा ६ लेन सडकको कालोपत्रेको काम गर्ने योजना थियो । तर, कोरोना भाइरसका कारण वैशाखमा कालोपत्रे हुन नसेकेको उनले बताए ।
हामीले अहिले कामलाई तीब्रता दिएका छौँ, तर कालोपत्रेको काम हुन पाएको छैन उनले टाकुरासँग भने, कहिले बाढी र कहिले के–के समस्याले गर्दा मैले सोचेजस्तो काम हुन पाएको छैन । उनका अनुसार ६ लेन सडकका सबैजसो कालोपत्रे अधुरै रहेका छन् ।
कालोपत्रे गर्ने कामदारहरु अधिकांश भारतीय नागरिक रहेकाले समस्या रहेको उनको भनाई थियो ।
रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा करीब ५ महिना अगाडि भत्काईएको थियो । तर, सडक भत्काएर पनि निर्माण कार्य नहुँदा समस्या हुँदै आएको थियो ।
अहिले इटहरी आसपासका ठाउँमा पनि काम भइरहेको आयोजनाले जनाएको छ ।
Discussion about this post