इटहरी (डेस्क) : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका २ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदलयात्री बिर्तामोड ४ का ५२ वर्षीय टंक काफ्लेको मृत्यु भएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सडकमा रोकेर राखेको ट्रक सडकमा निकाल्नका लागि ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिंदा घाइते भएका काफ्लेलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
चालक र ट्रकलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका ६ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय राजकुमार सरदारलाई उपचारकोलागि वीपी प्रतिष्ठान धरान लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।














Discussion about this post