इटहरी : सुनसरीको इनरुवा नगरपालिका र भोक्राहा–नरसिंह गाउँपालिकामा भएको भिन्नाभिन्नै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर भोक्राहा–नरसिंह गाउँपालिका ५ जनताचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री भारत सुपौल बनौली पञ्चायत बस्ने ३५ वर्षीय गुलाब मेहताको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवामा लगिएपनि उनको दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न कार र चालक रुपन्देही सैनामैना ४ बस्ने ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
तीव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै, बिहीबार दिउँसो १२ः४५ बजेको समयमा इनरुवा ५ स्थित इनरुवा–दुहबी सडक खण्डमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।
तत्काल नखुलेको मोटरसाइकलले साइकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ८ बस्ने २७ वर्षीय जीवन राउतलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालक फरार रहेकाले खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post