इटहरी : इटहरीमा दैनिक चार दिनदेखि जंगली हात्तीले आतंक मच्चाएपछि मेयर हेमकर्ण पौडेल गस्तीमा निस्किएका छन् ।
इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्दै आएका छन् ।
सोही क्रममा आज (सोमबार) साँझ ७ बजेतिर मेयर पौडेलसहित इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितले स्थलगत पुगेर स्थानीयबासीसँगै गस्तीमा निस्किएका हुन् ।
चारकोसे जंगल क्षेत्र नजिकै रहेको बस्ती आसपासमा विगत चार दिनदेखि दर्जन बढीको संख्यामा आएका जंगली हात्तीको बथान आएपछि बिजुलीका पोलमा बत्ती समेत नबलेको स्थानीयले गुनासो गरेका थिए ।
स्थानीयको गुनासोका आधारमा मेयर पौडेलको निर्देशनमा बिजुलीका पोलमा बत्ती समेत लगाइएको छ ।
साथै, हात्ती नियन्त्रण लिनका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र विभिन्न वन कार्यालयहरूलाई पनि पत्राचार गरी हात्ती मानव वस्तीमा प्रवेश गर्नबाट नियन्त्रण लिने तयारी भइरहेको मेयर पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि ‘हाइ अलर्ट’मा बस्न अनुरोध समेत गरिएको छ,’ पुरीले भने, ‘मंगलबारदेखि थप सुरक्षा अपनाउनका निम्ति तयारी भइरहेको छ ।’
छावासहित दर्जन बढीको संख्यामा आएका हात्तीले लगातार चारदिनदेखि मानव वस्तीमा पसेको गुनासो आएपछि स्थानीयसँगै गस्तीमा निस्किएको पुरीले बताए ।
मेयर पौडेल, डीएसपी खड्का र इटहरी २ का वडाध्यक्ष माधव कोइरलासहित स्थानीयले गस्ती गरेका थिए ।
यो पनि – इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय













Discussion about this post