इटहरी : मोटरसाइकल दुर्घटनामा प्रदेश १ प्रदेशसभा (संसद) सचिवालयका अधिकृतको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका ३ स्थित ढाटमा बुधबार (आज) दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन् ।
सरकारी नम्बर प्लेट प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ जाने क्रममा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनी सवार प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर हुँदा बुधबार बिहान ८ः५५ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका २ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर ४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् ।
मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post