इटहरी : इटहरी ४ मा मुख्य कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार प्रदीप अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारणभामा वार्षिक प्रतिवेदन, आय, व्यय, संस्थाको भाविक कार्यक्रम प्रस्तुत गरियो ।
सपोर्ट लघुवित्तका पूर्वअध्यक्ष अशोककुमार प्रधानले कर्मशियल बैंकहरुले ब्याजदर बढाउँदै लाने र सरकारले लघुवित्तहरुको ब्याजदर भने घटाउदै लगेका कारण दोहोरो चेपुवामा परेको बताए ।
लघुवित्तका अध्यक्ष अधिकारीले बिद्यमान अवस्थामा लघुवित्तहरूको शाखा सञ्जाल ब्यापक हुदै गएपनि एकै व्यक्तिले धेरै ठाउँबाट कर्जा लिने गरेका कारण असुलीमा समस्या देखिएको बताए ।
उनले लघुवित्त संस्थाहरुबीच भइरहेको तीब्र प्रतिस्पर्धा, कर्जा सूचना केन्द्रमा सबै ग्राहकहरुको तथ्यांक उपलब्ध नहुनु, कोरोना महामारीको असर, तरलता अभावका साथसाथै फण्ड व्यवस्थापनमा लागत दर अघिल्लो आर्थिक बर्षको तुलनामा अस्वाभाबिक बढ्नु जस्ता कारणले पनि चुनौती थपिएको बताए ।
कार्यक्रममा संस्थाका सञ्चालकहरू महेश पोखरेल, पुनित शारडा, सुमित अधिकारी, पूर्व सञ्चालकहरू अशोक कुमार प्रधान, भूपाल मिश्र, नवनिर्वाचित सञ्चालक सदस्य तारादेवी भट्टराई लगायतको उपस्थिति थियो ।
कोसी प्रदेशमा २५ ठाउँमा शाखा रहेको संस्थाको आठौँ साधारणसभाले साढे ११ प्रतिशतका दरले सेयर सदस्यहरूलाई बोनस वितरण गर्ने स्वीकृति प्रदान गरेको छ ।
संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गरेको साधारणसभामा अध्यक्ष अधिकारीले बताए ।
संस्थाका निमित्त कार्यकारी अधिकृत एवं कम्पनी सचिव विष्णुकान्त चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।














Discussion about this post