इटहरी : नेपाली फोटो पत्रकारिता क्षेत्रका चर्चित फोटो पत्रकार विशप ताम्राकारको ४७ वर्षको उमेरमा निधन भएको छ।
इटहरीमा डिजिटल फोटोग्राफी र मोडलिङ फोटोग्राफीलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका फोटो पत्रकार, फोटोग्राफर तथा प्रशिक्षक ताम्राकारको आइतबार बिहान पोखरास्थित मूल घरमा निधन भएको हो।
बुवा रमेश ताम्राकारका अनुसार सुरुमा प्यान्क्रियाजमा देखिएको समस्या पछि शरीरका अन्य अंगमा समेत फैलिएपछि काठमाडौंमा करिब अढाई महिना र भारतको नयाँदिल्लीमा दुई महिना उपचार गरिएको थियो।
उपचारबाट स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले थप उपचार सम्भव नभएको बताएपछि परिवारले उनलाई पोखरा ल्याएको थियो। घरमै उनको निधन भएको बुवा रमेशले पुष्टि गरे। उनका अनुसार आइतबार दिउँसो नै सद्गतसमेत गरिएको छ।
ताम्राकारले पूर्वी नेपालमा डिजिटल फोटोग्राफी र मोडलिङ फोटोग्राफीलाई व्यावसायिक रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए। उनी फोटो पत्रकारका रूपमा मात्र नभई प्रशिक्षकका रूपमा पनि परिचित थिए।
नेपाल फोटो पत्रकार महासंघका कोशी प्रदेश सदस्य तथा प्रशिक्षक रहेका उनले धेरै नयाँ पुस्ताका फोटो पत्रकार र फोटोग्राफर उत्पादन गर्न योगदान दिएका थिए।
उनको निधनप्रति नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले गहिरो दुःख व्यक्त गर्दै नेपाली फोटो पत्रकारिता क्षेत्रले एक कुशल, समर्पित र आदरणीय व्यक्तित्व गुमाएको जनाएको छ।
महासंघका अध्यक्ष नवीन गड्तौलाले जारी गरेको शोक वक्तव्यमा ताम्राकारको फोटो पत्रकारिताको विकासमा पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरिएको छ।
ताम्राकारका श्रीमती र एक छोरी छन्। सञ्चारकर्मी, फोटोग्राफर तथा विभिन्न संघ–संस्थाले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।












Discussion about this post