धरान : चिकित्सा विश्वविद्यालय बनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थानको मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पूर्ण विश्वविद्यालय बनाउनुपर्ने सरोकारवाहरूले माग गरेका छन् ।
नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एक ठाँउमा राख्ने गरी ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनुपर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहीबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवाला तथा प्रतिष्ठानका पूर्व उपकुलपतिहरूले जोड दिएका छन् ।
प्रतिष्ठानको स्थापनानै चिकित्सा विश्वविद्यालय बनाउने उद्येश्यले भएकोले यसलाई छाता ऐन भित्र राख्न नहुने प्रतिष्ठानका पूर्व उपकुलपति तथा कांग्रेस नेता डा। शेखर कोइरालाको भनाई छ ।
‘प्रतिष्ठानको सुरुवात गर्दा नै यसलाई विश्वविद्यालय बनाउने उदेश्य थियो,’ कोइरलालले भने ‘प्रतिष्ठान भारतको एम्सको मोडलमा स्थापना भएको हो, यो अन्य प्रतिष्ठाभन्दा विशिष्ट प्रतिष्ठान भएकाले यसलाई छाता ऐनमा नराखी पुर्ण विश्वविद्यालय बनाउनुपर्छ ।’
धरान या कोसी प्रदेशको लागि मात्र नभई देशकै लागि प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउन आवश्यक रहेको कोइरालाले बताए । ‘छाता ऐनमा वीपी प्रतिष्ठानमा लैजाँदा देशलाई नै घाटा हुन्छ, यसको विशिष्ट पहिचान छ । यो अन्य प्रतिष्ठानभन्दा विलकुलै फरक छ ।’ उनले भने ।
चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण अहिले प्रतिष्ठान माथि आक्रमण भएको वताउदै कोइरालाले भने ‘चिकित्सा शिक्षा आयोेगक आँफूलाई सुपेरियर हिरो ठान्छ, त्यसको कारण यो प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको हो ।’
अध्ययन अनुसन्धान,सेवा समेत अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु पर्नेमा तल झारेर छाता ऐनमा लैजानु गलत भएको पूर्व उपकुलपति प्रा। डा। लोकविक्रम थापा बताउँछन् ।
उनले नेपालमा भएका अन्य विश्वविद्यालयभन्दा फरक खालको मेडिकल विश्वविद्यालय बनाउने उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउदै भने, ‘चिकित्सा शिक्षाका उच्च तहसम्मको अध्ययन हुँदै आएको प्रतिष्ठानले नेपालमा कुनैपनि स्वास्थ्य समस्या समाधान गर्न सामथ्र्य राख्छ ।’
प्रतिष्ठानका स्थापक पूर्व निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्ने योजना अनुरुप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए ।
उनले सरकारले ल्याउन लागेको छाता ऐनमा प्रतिष्ठानमा राख्न लागेको सुन्दा आँफू अचम्मित भएको र दुःख समेत लागेको बताए ।
‘नेपालका दल र नेताहहरूको अर्कमण्डयताका कारण प्रतिष्ठानलाई छाना ऐनमा लगेर आंगिक क्याम्पसको रुपमा पुर्याउन लागिएको हो,’ उनले भने, ‘प्रतिष्ठानलाई यो कुनै हालतमा छाता ऐनमा लान दिनु हुँदैन, यसलाई भारतको एम्स जस्तै विशिष्ट खालको मेडिकल विश्वविद्यालय बनाउनुपर्छ ।’
वरिष्ठ चिकित्सकहरूलाई धरान टाढा भएकाले उनीहरूले उपत्यका बाहिर भएको विश्वविद्यालय सो सरहको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन बाधा पुर्याइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बताए ।
कोसी प्रदेशको मात्र नभई देशकै गौरव रहेको प्रतिष्ठानलाई छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनुपर्ने कोशी प्रदेश सांसद मीना श्रेष्ठले बताइन् ।
धरानको भाग्य र भविष्यसँग जोडिएको प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति धरानका संयोजक मुक्सामहाङ मेन्याङ्बोले बताए ।












Discussion about this post