झापा : सञ्चारिका समूह नेपालको आयोजना तथा झापा शाखाको सहजीकरणमा बिहीबारदेखि बिर्तामोडमा दुई दिने सीमान्तकृत महिला पत्रकारहरूको क्षमता विकास गोष्ठी सुरु भएको छ ।
सञ्चारिका समूह नेपाल झापाको प्रथम कार्यक्रम अन्तर्गत कोसी प्रदेशभरीका पत्रकारहरूलाई लक्षित गरी गोष्ठी तथा तालिम सुरु भएको हो । तालिलमा निलिफा सुब्बा र लक्ष्मी गौतमले सहजीकरण गरेका छन् ।
उद्घाटन सत्रकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पत्रकारहरूकै कारण समाजमा आम मानिसले सूचना थाहा पाइरहेको बताइन् । उनले सीमान्तकृतहरूलाई सशक्तीकरण गर्नुपर्ने तर्क गरिन् ।
‘महिलाले पनि पुरुषजस्तो रातारात बैठक तथा छलफलमा बस्नुपर्दा भोलिपल्टै चरित्र हत्या हुने अवस्था छ,’ उनले भनिन्, ‘अब सुशासनसहित जवाफदेही र पारदर्शीतासहितको पत्रकारिता आवश्यक छ ।’
फ्रिड्रिक इबर्ट स्टिफङ संस्थासँगको साझेदारीमा भएको तालिममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महातरा प्रसाईं, उपमेयर नगेन्द्र संग्रौला, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मी, विज्ञापन बोर्ड सदस्य पवन अधिकारी, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले बोल्दै सबै भूगोल, सीमान्त्कृत पत्रकारहरूलाई क्षमता विकास आवश्यक रहेको र यो किसिमको तालिमले समाचार संकलनमा थप सहज हुने बताएका थिए ।
सञ्चारिका समूह नेपालकी केन्द्रिय अध्यक्ष विमला तुम्खेवाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा झापा शाखाकी अध्यक्ष लीला अनमोलले कार्यक्रमबारे प्रकाश पारिन् । कोषाध्यक्ष सबिना सुब्बाले सञ्चालन गरेको कार्यक्रम शुक्रबार समापन हुने सचिव अनुषा चुडालले बताइन् ।














Discussion about this post