विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा संग्रहको औपचारिक विमोचन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कैलाशकुमार राई, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार मेदिनीप्रसाद शर्मा, प्राज्ञ खेम नेपाली, नेपाल मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल र डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।
विमोचित कृतिबारे टिप्पणी गर्दै समीक्षक बाबुराम पोखरेलले संग्रहमा समेटिएका कविताले सामाजिक यथार्थ र चेतनालाई सबल रूपमा उठाएको बताए।
कार्यक्रममा विराट साहित्य संगमका सचिव गोपाल निर्भीकले स्वागत मन्तव्य दिएका थिए भने कवि उमेश लुइँटेलले लेखक न्यौपानेको परिचय र साहित्यिक योगदानमाथि प्रकाश पारे।
प्रमुख अतिथि कैलाशकुमार राई, प्राज्ञ विवश पोखरेल र कवि मनु मञ्जिलले कृतिको सफलताको शुभकामना व्यक्त गरे। सोही अवसरमा कविहरू बद्री भिखारी, शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित र रञ्जना भट्टराईले संग्रहमा समेटिएका विभिन्न कविता वाचन गरे।
विराट साहित्य संगमले प्रकाशनमा ल्याएको ‘अन्पी मुसहरको माटो’ मा कुल ४१ वटा कविता समावेश छन्।
















Discussion about this post