संखुवासभा : संखुवासभा कारागारमा दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका प्रहरी सहायक निरीक्षक (असई) लाई पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको छ ।
पीडित परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले असई लक्ष्मी चौधरीलाई पक्राउ गरेर पाँच दिनको म्याद थप गरेको हो ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले आइतबार नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई चौधरीविरूद्ध जाहेरी परेको थियो। पक्राउ अनुमति लिए पनि प्रहरीले घिमिरेलाई अझै पक्राउ गरिसकेको छैन।
संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी कारागारभित्रै बुधबार बिहानमृत्यु भएको थियो।
उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ।
घटनाको अनुसन्धानका लागि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी उपरीक्षक ऋषिराम कँडेल नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।
कँडेल नेतृत्वको अनुसन्धान टोलीमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।












Discussion about this post