मोरङ : मोरङको सुन्दरहरैँचामा बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार बालिकालाई बलात्कार गरेको घटनामा संलग्न सुन्दरहरैँचा नगरपालिका ९ का २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति पक्राउ गरिएको हो ।
घरबाटै पक्राउ परेका बर्देवाले बिहे गर्ने प्रलोभन देखाएर १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।
प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मङ्गलवार अदालतबाट म्याद थप गरेको छ । पीडितकी दिदीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका बर्देवामाथि अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको जानकारी डीएसपी दाहालले दिए ।
उनकाअनुसार कुटपिट तथा यातना दिएर बलात्कार गरी विभिन्न डर र धम्कीसमेत दिएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई नसुनाएको पाइएको छ । पछिल्लो समय बालिकाकी दिदीले थाहा पाएपछि घटना प्रहरीसम्म पुगेको हो ।
‘बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि बर्देवाले कुटपिट गर्ने र यातना दिने गरेको पाइयो,’ दाहालले भने, ‘यातना खेप्दै पटक–पटक बलात्कृत भएपछि मानसिक रूपमा केही विक्षिप्तजस्तो देखिएकी पीडितलाई आवश्यक ‘काउन्सिलिङ’ समेत गर्ने काम भइरहेको छ ।’
दाहालका अनुसार बर्देवाले करिब ३ महिनादेखि बालिकालाई बारम्बार बलात्कार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post