विराटनगर : विराटनगरको कोशी अस्पतालबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट अहमदलाई पक्राउ गरिएको हो ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।
उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।
अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनी किन अस्पतालबाटै भागे भन्नेबारे थप अनुसन्धान गरिने एसपी कार्कीले बताए ।












Discussion about this post