धरान : धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशअनुसार धरानमा बढेको खानेपानीको महसुल तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको हो ।
धरान १७ निवासी भीमबहादुर खड्काले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दे न्यायाधीश विमल सुवेदी र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।
खड्काले गत साउन २४ गते बोर्डको महसुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न, नगराउनको लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
यसअघि उच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै भदौ २ गते पेशी तोकेर अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनेर बारे दुवै पक्षलाई छलफलमा बोलाएको थियो । आइतबार दुवै पक्षको बहस सकेर उच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै खानेपानी बोर्डले वृद्धि गरेको महसुल कार्यान्वयन नहुने भएको छ । यससँगै खानेपानी बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर हर्क साम्पाङलाई थप दबाब परेको छ ।
महसुल वृद्धिविरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरूसँग मेयर साम्पाङले गरेको तीन बुँदे सहमति लागू गर्न थप दबाब परेको हो । गत साउन १ गतेबाट धरानमा खानेपानीको महसुल वृद्धि गर्ने एकलौटी निर्णय गरिएको भन्दै धरान अशान्त बन्दै आएको थियो ।














Discussion about this post