झापा : भारतबाट नेपालतर्फ ब्राउनसुगर भित्र्याउन दुई महिनाको शिशुको डाइपर प्रयोग गरिएको घटना सार्वजनिक भएको छ। झापाको भद्रपुरबाट प्रहरीले डाइपरभित्र लुकाएर ल्याइएको ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर–५ बसपार्क क्षेत्रमा शङ्कास्पद अटो जाँच गर्ने क्रममा शिशुले लगाएको डाइपरभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको किसनगञ्ज घर भई हाल बिर्तामोड–५ बस्ने ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, उनीहरूको दुई महिनाको छोरा र अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।
प्रहरीका अनुसार ८ ग्राम ९४ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। लागूऔषध ओसारपसारमा शिशुलाई समेत प्रयोग गरिएको आशंकामा घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, अटो र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
















Discussion about this post