इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ बराहक्षेत्र नगरपालिका–११ मधुवनको मेजर टोलस्थित भित्री सडकखण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका दुईवटा हरियो प्लास्टिकले बेरिएका पोका फेला पारेको थियो।
पोका खोलेर हेर्दा लागूऔषध गाँजा फेला परेको र तौल गर्दा ६२ किलोग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान थालिएको छ।
उक्त गाँजा कसले राखेको हो भन्नेबारे अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सोही दिन बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित भित्री सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार को २ ह ८९९२ नम्बरको अटोबाट बराहक्षेत्र–१ का २७ वर्षीय राजन राई र २८ वर्षीय अभिषेक भुजेलको साथबाट २.०८ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको थियो।
त्यसको सात मिनेटपछि प्रदेश १–०२–०४६ प ९०५४ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको बेलका नगरपालिका–४ निवासी २७ वर्षीय रविन राई र उनकी १९ वर्षीया श्रीमती आयुषा राईको साथबाट १६.३१ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, स ११ प ४१४० नम्बरको मोटरसाइकलमा सवार बराहक्षेत्र–१ का २८ वर्षीय सुमन राई र ४० वर्षीय सन्देश राईको साथबाट ८.३१ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
तीनवटै घटनामा गरी कुल २६.७० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषध र सवारी साधनसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय सुनसरीको पूर्वी क्षेत्र हुँदै लागूऔषध ओसारपसार र कारोबार बढ्दै गएको सूचनाका आधारमा प्रहरीले निगरानी र चेकजाँचलाई कडा बनाएको जनाएको छ।














Discussion about this post