विराटनगर : भ्रमण भनेपछि धेरैको मनमा रमाइलो, साथीभाइसँगको हाँसो, फोटो खिच्ने र नयाँ ठाउँ घुम्ने कल्पना आउँछ ।
तर कहिलेकाहीँ यात्रा भ्रमणमा सीमित हुँदैन, त्यो जीवनभर सम्झिरहने अनुभव बन्छ । जहाँ प्रत्येक पाइला ज्ञानसँग जोडिन्छ, प्रत्येक दृश्यले प्रकृति प्रतिको प्रेम जगाउँछ र प्रत्येक भेटले समाज, संस्कृति तथा इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिलाउँछ ।
विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूका लागि शनिबारको दिन यस्तै अविस्मरणीय बन्यो । विद्यालयले आयोजना गरेको हाइकिङ टोली मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा पुग्यो ।
यात्रा पहाड चढ्ने वा ताल हेर्नेमा सीमित भएन, प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने जीवन्त पाठशाला बन्यो ।
शनिबार बिहानै लेटाङ–२ को किराँत चोकबाट सुरु भएको पदयात्राले चुरे पहाडको बाटो समात्यो । करिब डेढ घण्टाको उकालो हिँड्दा पसिना बग्यो, खुट्टा थाके, तर मन भने उत्साहले भरिएको थियो । हरियाली जंगल, चराहरूको चिरबिर, चिसो हावा र बाटोभरि फैलिएको प्राकृतिक सुन्दरताले यात्राको थकानलाई बिस्तारै बिर्साइदियो ।
राजारानी ताल पुग्नेबित्तिकै विद्यार्थीहरूको अनुहारमा देखिएको उत्साहले त्यो यात्राको वास्तविक अर्थ झल्काइरहेको थियो । तालको शान्त वातावरण, वरिपरिको घना वन, हरियालीले ढाकिएका डाँडाहरू र प्रकृतिको अनुपम सौन्दर्यले सबैलाई रोमाञ्चित बनायो ।
पानीमै उम्रिएर जीवन बिताइरहेका पानी सिमालीका रूख, राजारानीको अर्को आकर्षण रह्यो । ती रूखमा झुम्मिएका ४६ प्रजातिका सुनाखरीले विद्यार्थीहरूलाई रोमाञ्चित बनायो । पुस्तकमा मात्र पढेका जैविक विविधता र वनस्पतिको संसारलाई आफ्नै आँखाले देख्ने अवसर पाउँदा सबैमा उत्साह थप्यो ।
त्यहाँ पुगेपछि उनीहरूले केवल वनस्पति मात्र देखेनन्, प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । प्रकृतिले आफैं सञ्चालन गरिरहेको विशाल प्रयोगशालामा पुगेजस्तो अनुभूति भएको विद्यार्थीले बताए ।
राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरू गम्भीर भएर सुन्दै थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीहरूले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाए ।
विद्यार्थी निश्चल न्यौपानेले भने, ‘हामी हाइकिङ भनेर आएका थियौँ, तर यहाँ आएपछि यो त खुला विश्वविद्यालयजस्तै लाग्यो । प्रकृति, इतिहास र वातावरणबारे यति धेरै कुरा सिक्न पाइयो कि यो यात्रा कहिल्यै बिर्सन सक्दिनँ ।’
उनका अनुसार उकालो चढ्दाको थकान राजारानीको मनोरम दृश्यले एकैछिनमा हराइदियो। ‘कम्तीमा जीवनमा एकपटक त यहाँ आउनैपर्छ भन्ने महसुस भयो’, उनले थपे ।
राजारानी भ्रमणको अर्को विशेष आकर्षण बन्यो लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्क । हिन्दु, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तान्यो ।
पत्रकार पुष्पराज थपलियाका अनुसार यो पार्क धार्मिक संरचना मात्र नभएर नेपाली समाजको विविधताभित्रको एकताको सशक्त प्रतीक हो । ‘नेपाल अनेक जातजाति, भाषा र धर्मको साझा घर हो । यस्ता संरचनाले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने प्रेरणा दिन्छ’ उनले भने ।
भ्रमणको अर्को उल्लेखनीय पक्ष थियो स्थानीय सरकारको सहभागिता । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौला स्वयं उपस्थित भएर विद्यार्थीहरूलाई स्वागत गरेका थिए । खासगरी राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारीसमेत गराइएको थियो ।
शिक्षक रिसभ पाण्डेले भने, ‘स्थानीय जनप्रतिनिधिहरू स्वयं उपस्थित भएर यस क्षेत्रबारे जानकारी दिनु अत्यन्त प्रेरणादायी थियो ।’
भ्रमणले साथीभाइ र शिक्षक–विद्यार्थीबीचको सम्बन्धलाई पनि अझ प्रगाढ बनाएको विद्यार्थी प्रमन ढकालको बुझाई रह्यो । उनका अनुसार कक्षाकोठामा सीमित सम्बन्धभन्दा बाहिर निस्किएर सबैसँग घुलमिल हुने, एकअर्कालाई बुझ्ने अवसर यो यात्राले प्रदान गर्यो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिकाइसँग जोड्ने प्रयास गर्दै आएको बताए ।
नगर प्रमुख लावतीले राजारानी क्षेत्र साइबेरियाबाट आउने चराहरूको विश्रामस्थल भएको जानकारी दिए। यहाँ मयुर, अजिङ्गर, सुनाखरी तथा दुर्लभ वनस्पतिका कारण विभिन्न देशबाट अनुसन्धान टोलीहरू आउने गरेको उनले बताए । उनका अनुसार जैविक विविधता, वनस्पति र वातावरणीय अध्ययनका लागि राजारानी अन्तर्राष्ट्रिय महत्वको गन्तव्य बन्दै गएको छ ।
साथै, दिगो शान्ति र धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले अन्तरधार्मिक पार्कमा सबै धर्मका गुरुहरूको सहभागितामा नियमित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए ।
हिन्दु, बौद्ध, इसाई, इस्लाम र किराँत धर्मका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने प्रयास नेपालकै लागि नौलो अभ्यास हुने उनको विश्वास छ ।
उपप्रमुख निरौलाले लेटाङ केवल प्राकृतिक सुन्दरताको भूमि मात्र नभई सुन्तला, कफी र चिया उत्पादनका लागि पनि परिचित रहेको बताइन् । समला डाँडा, झर्नाहरू, राजारानी ताल र चुरे क्षेत्रले लेटाङलाई पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बनाएको उनको भनाइ छ ।
राजारानीको यो हाइकिङले विद्यार्थीहरूलाई एउटा महत्वपूर्ण सन्देश दियो—सिकाइ केवल कक्षाकोठाको चार पर्खालभित्र सीमित हुँदैन । प्रकृतिको काखमा पुगेर इतिहास सुन्न सकिन्छ, जैविक विविधता बुझ्न सकिन्छ, सामाजिक सद्भावको महत्व महसुस गर्न सकिन्छ र स्थानीय समुदायसँग जोडिँदा वास्तविक शिक्षाको अनुभूति गर्न सकिन्छ ।
राजारानी पुगेका विद्यार्थीहरूले प्रकृतिसँग संवाद गर्ने, इतिहाससँग परिचित हुने, विविधतामा एकताको सन्देश बुझ्ने र जीवनका नयाँ पाठ सिक्ने अविस्मरणीय यात्रा बन्यो ।
राजारानी एउटा पर्यटकीय गन्तव्य मात्र नभई ज्ञान, अनुभव र प्रेरणाको खुला पाठशाला रहेको सहभागीहरूले बताएका थिए ।











Discussion about this post