इटहरी : विद्यालयमा पढिरहेका तर आँखामा समस्या भएको थाहा नपाएका बालबालिकाको पहिचान गर्न इटहरीमा वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन हुने भएको छ।
रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा इटहरीका विद्यालय तथा समुदायमा पुगेर १४ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण गर्न लागेको हो। अभियानमार्फत कम्तीमा १० हजार बालबालिकाको आँखाको अवस्था परीक्षण गर्ने लक्ष्य राखिएको छ।
क्लबले वर्षभरिमा इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर सञ्चालन गर्ने जनाएको छ। परीक्षणका क्रममा दृष्टिसम्बन्धी समस्या देखिएका बालबालिकालाई थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइनेछ।
क्लबका अध्यक्ष चेतन धमलाका अनुसार कतिपय बालबालिकाले आफूलाई आँखाको समस्या भएको जानकारी नै नपाउने भएकाले विद्यालय र समुदायमै पुगेर परीक्षण गर्न लागिएको हो। समयमै समस्या पहिचान हुन नसक्दा सामान्य दृष्टि समस्या पनि पढाइ र दैनिक गतिविधिमा असर पार्ने गरी जटिल बन्न सक्ने उनको भनाइ छ।
अभियानअन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाका लागि निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिनेछ। आवश्यकताअनुसार दृष्टि तथा ल्याब परीक्षण, औषधि र चस्माका साथै स्क्विन्ट तथा मोतियाबिन्दुलगायत समस्याको उपचारसमेत गरिने क्लबले जनाएको छ।
अभियानबाट परीक्षण गरिएका बालबालिकामध्ये उपचार आवश्यक पर्ने कम्तीमा एक सय जनालाई उपचार सेवा उपलब्ध गराउने लक्ष्य क्लबले लिएको छ।
खासगरी अभियानको उद्देश्य आँखा परीक्षणको संख्या बढाउनु मात्र नभई आँखाको समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसकेका बालबालिकालाई पहिचान गरी आवश्यक सेवासँग जोड्नु हो।
अस्पतालका व्यवस्थापक कुमार पृथुले १० हजार बालबालिकाको परीक्षण गर्ने लक्ष्यलाई संख्यात्मक अभियानका रूपमा नभई पहिचान भएका समस्या उपचारसम्म पुर्याउने प्रयासका रूपमा लिनुपर्ने बताए।
बालबालिकाको दृष्टिसम्बन्धी समस्याले उनीहरूको पढाइ, सिकाइ र दैनिक गतिविधिमा प्रत्यक्ष असर पार्ने भएकाले विद्यालय तहबाटै नियमित आँखा परीक्षणको अभ्यास विकास गर्नुपर्ने क्लबले जनाएको छ।











Discussion about this post