- माधव पोखरेल
उदयपुर । उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा चुनौती कायमै रहेको देखाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा अपराधको स्वरूप र प्रवृत्तिमा उतारचढाव देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा विभिन्न प्रकृतिका ५९८ वटा घटना तथा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१-८२ मा यो संख्या बढेर ६१६ पुगेको थियो । तर २०८२-८३ मा घटेर ५७१ मा आएको छ । कुल घटना घटे पनि गम्भीर प्रकृतिका केही अपराध भने बढेको तथ्याङ्कले देखाउँछ ।
तीन वर्षको तथ्याङ्कमा सबैभन्दा चिन्ताजनक पक्ष आत्महत्या देखिएको छ । झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या २०८०-८१ मा १०६, २०८१-८२ मा ७७ र २०८२-८३ मा पुनः बढेर १०० पुगेको छ । विष सेवनबाट आत्महत्या गर्ने घटना पनि क्रमशः १, १४ र १० वटा दर्ता भएका छन् । आत्महत्याको यो तथ्याङ्कले मानसिक तथा सामाजिक समस्याको पहिचान र रोकथाममा थप ध्यान दिनुपर्ने दखिएको बमको भनाइ छ ।
त्यसैगरी सवारी दुर्घटनाबाट हुने मृत्यु पनि उदयपुरको अर्को ठूलो चुनौती छ । २०८०-८१ मा दुर्घटनाबाट ३० जनाको मृत्यु भएकामा २०८१-८२ मा २६ जनाले ज्यान गुमाएका थिए । तर २०८२-८३ मा यो सङ्ख्या बढेर ४१ पुगेको छ । अघिल्लो वर्षको तुलनामा १५ जनाको वृद्धि हुनु गम्भीर सडक सुरक्षाको जाेखिम देखिन्छ ।
लागुऔषधसम्बन्धी अपराध भने पछिल्लो वर्ष घटेको देखिन्छ । । २०८०-८१ र २०८१-८२ मा समान ८९-८९ वटा मुद्दा दर्ता भएकामा २०८२-८३ मा घटेर ६५ पुगेका छन् । सङ्ख्या घटे पनि लागुऔषध नियन्त्रण जिल्लाको सुरक्षा चुनौतीबाट बाहिरिएको छैन ।
महिला तथा बालबालिकाविरुद्धका अपराधमा पनि प्रहरीको तथ्याङ्कले गम्भीर अवस्था देखाउँछ । जबरजस्ती करणीका घटना २०८०-८१ मा ३९, २०८१-८२ मा २६ र २०८२-८३ मा पुनः बढेर ४४ पुगेका छन् । जबरजस्ती करणी उद्योगका घटना क्रमशः ११, २० र ५ वटा छन् । बाल यौन दुरुपयोगका घटना तीन वर्षमा क्रमशः ७, १० र ८ वटा दर्ता भएका छन् ।
बहुविवाहमा क्रमसः ५, ५ र ६ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । बैँकिङ कसुरमा भने ठूलो उतारचढाव देखिन्छ । २०८०-८१ मा ४० वटा घटना दर्ता भएकामा २०८१-८२ मा बढेर १०१ पुगेको थियो । पछिल्लो आर्थिक वर्षमा भने घटेर ४३ मा आएको डिएसपी बमले जानकारी दिए । बमका अनुसार चोरीका घटना ३७ बाट घटेर २२ पुगे पनि पछिल्लो वर्ष पुनः २८ पुगेका छन् । ठगीका घटना भने क्रमशः ९, १५ र ११ वटा दर्ता भएको तथ्यांङ्क भएको बमले जानकारी दिए ।
प्रहरीको तथ्यांङ्क अनुसार कर्तव्य ज्यानमा २०८०-८१ मा १० वटा मुद्दा दर्ता भएकामा २०८१-८२ मा ५ र ०८२-०८३ मा ६ वटा छन् । यसैगरी ज्यान मार्ने उद्योगमा क्रमशः ७, ५ र १३ वटा मुद्दा दर्ता भएका छन् । बमका अनुसार भवितव्य ज्यानमा बढेको छ । जसमा २०८०-०८१ मा ४७, ०८१-८२ मा ७३ र आव ०८२-०८३ मा ५९ वटा मुद्दा दर्ता भएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या, सडक दुर्घटना, जबर्जस्ती करणी, बहुविबाह, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागुऔषध जस्ता विषय सामाजिक सुरक्षाका प्रमुख चुनौतीका रूपमा देखिएको बमको भनाइ छ । उनले प्रहरीको तथ्यांङ्क केवल मुद्दा र घटनाको सङ्ख्या मात्र नभएको भन्दै समाजमा बढिरहेका जोखिमको सङ्केत भएको बताए । उनले भने, ‘अपराध नियन्त्रणसँगै आत्महत्या न्यूनीकरण, सडक सुरक्षा, लागुऔषध नियन्त्रण तथा महिला र बालबालिकाको सुरक्षा सम्बन्धी सचेतना र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।’
एसपी राजन चापागाईँका अनुसार वडा, स्थानीय तह, सरकारी तथा गैर संस्थाबाट जनचेतनामुलक कार्यक्रम चलाउन जरुरी छ । यसका लागि सामाजिक एकता, सद्भाव एकापसमा सहयोग संस्थागत रुपमा ऐक्यवद्धता पनि आवयश्यक रहेको छ । ’













Discussion about this post