इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ को सीमास्थित जनता चौकमा मङ्गलबार भएको दुर्घटनामा कोशी गाउँपालिका–३ का २८ वर्षीय जितेन्द्र रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेश १–०२–०६६ प १७६७ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अनटेस्ट सिटी सफारी एकापसमा ठोक्किएका थिए । मोटरसाइकलमा जितेन्द्रसँगै सवार प्रदीप यादव घाइते भएका छन् ।
दुर्घटनामा सिटी सफारी चालक भोक्राहा नरसिंह–४ का मुख्तार मन्सुरी तथा यात्रुहरू राजोता खातुन, तफ्रेज मन्सुरी र सम्सा खातुन पनि घाइते भएका छन् ।
घाइते पाँचै जनाको सप्तकोसी न्यूरो अस्पताल र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनटेस्ट सिटी सफारी सञ्चालन र राजमार्गमा बढ्दो सवारी चापका बीच भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post