बिहान विद्यालय हिँडेको बच्चाको झोलामा के–के हुन सक्ला ? कापी, किताब, पेन, पेन्सिल, टिफिन बक्स, वाटर बोटल कि अरू केही ?मलाई लाग्छ– सबैभन्दा धेरै त बुबाआमाको सपना हुन्छ । अझ भन्नुपर्दा बुबाआमाले आफ्नो जीवनमा पूरा गर्न नसकेको सपना ।
कसैलाई लाग्छ, छोरोछोरी डाक्टर बनुन्, इन्जिनियर बनुन्, सरकारी जागिरे बनुन् । कसैले विदेशमा राम्रो भविष्य देखिरहेका छन्, कतिलाई ठूलो व्यवसायी बनाउनु छ तर कसैको यस्तो सपना पनि हुन्छ कि आफ्नो बच्चा मानवीय संवेदनाले भरिएको एउटा राम्रो जीवन बाँचोस् ।
हामीले गहिरिएर सोच्नु पर्ने कुरा के हो भने हामीले हाम्रा बच्चाहरूलाई माथिका मध्ये कस्तो जीवनका लागि तयार गरिरहेका छौँ ? उनीहरूमा यो समय, समाज र सभ्यतालाई हेर्ने कस्तो दृष्टिकोण बन्दैछ ?
हामी उनीहरूलाई पाठ्यपुस्तक दिँदै पाठ पढाउँछौँ, परीक्षा लिन्छौँ र नम्बर/जीपीए हेरेर दङ्ग छौँ । तर जीवनको परीक्षा त प्रश्नपत्र बोकेर आउँदैन । जीवन कहिले हुण्डरी बनेर आउँछ, कहिले पहिरोजस्तो खस्छ ।
कहिले अवसर बनेर ढोका ढकढक्याउँदै आउँछ, कहिले असफलता बनेर सबै ढोका बन्द गरिदिन्छ । त्यहाँ न त पाठ्यक्रम हुन्छ, न उत्तरपुस्तिका । त्यहाँ चाहिन्छ– सोच्ने क्षमता, काम गर्ने सीप, निरन्तर कर्म गरिरहने सामाथ्र्य, निर्णय गर्ने साहस र परिस्थितिलाई बुझ्ने अनुभव ।
कति नम्बर आयो हैन, कति जीवन सिक्यौ ?
हाम्रो शिक्षाको एउटा बानी छ– बच्चालाई अंकमा मात्र नाप्ने ।
‘कुन Rank आयो ?’
‘कति GPA आयो ?’
अंक आवश्यक छ, मूल्यांकन आवश्यक छ तर एउटा बच्चाको सम्पूर्ण सम्भावनालाई अंकले मात्र त्यसरी नाप्न सकिन्छ ? कुनै बच्चा कागजमा कमजोर हुने तर मानिसको दुःख बुझ्न असाध्यै सिपालु हुन सक्छ । कुनै बच्चा गणितमा औसत होला तर नेतृत्व गर्न सक्ने विलक्षण क्षमता हुनसक्ला । कसैको हातमा चित्र बोल्ला, कसैको आवाजमा कविता, कसैको कल्पनामा नयाँ संसार ।
तर हामी परीक्षामा ल्याएको अंक हेरेर बच्चाको सम्पूर्ण भविष्यको फैसला गरिदिन्छौँ । यो गलत छ ।
ज्ञान चाहिन्छ र ज्ञानबाट सीप पनि चाहिन्छ
हामीले बच्चालाई विज्ञान पढाउँछौँ तर उसलाई केही बनाउन कति दिन्छौँ ? व्यवस्थापन पढाउँछौँ तर उसलाई कुनै कार्यक्रमको जिम्मेवारी कति दिन्छौँ ? होटल व्यवस्थापन पढाउँछौँ तर उसलाई वास्तविक अतिथिसँग व्यवहार गर्ने अवसर कति दिन्छौँ ? उद्यमशीलता पढाउँछौँ तर उसलाई सानो व्यवसाय चलाएर हेर्ने मौका कति दिन्छौँ ?
पढ्नु र जान्नु एउटै कुरा होइन । जान्नु र गर्न सक्नु पनि एउटै कुरा होइन । ज्ञान टाउकोको ज्योति हो, सीप हातको कौशल र करुणा मनको उज्यालो । अबको शिक्षाले टाउकोको ज्ञानलाई हातको कौशल र हृदयको करुणसँग जोड्नुपर्छ ।
कक्षाकोठाभन्दा बाहिर
एउटा विद्यार्थीले होटलको बारेमा कक्षाकोठामा पढ्न सक्छ तर एक दिन होटलको भान्सामा उभिएर कामको चाप देख्यो भने उसले ‘व्यवस्थापन’ शब्दको अर्थ अर्कै ढंगले बुझ्छ । ग्राहकको गुनासो आफैँ सुनेपछि ‘सेवा’ शब्दको अर्थ बदलिन्छ । टिमको नेतृत्व गर्नुपरेपछि नेतृत्वको वास्तविक जिम्मेवारी थाहा हुन्छ ।
आफ्नो बनाएको परियोजना असफल भएपछि असफलताको अर्थ बुझिन्छ । त्यसैले एक्सपोजर शिक्षा बाहिरको कुरा होइन, शिक्षाकै एउटा हिस्सा हो । विद्यार्थीलाई उद्योगमा, खेतमा, बैंकमा, होटलमा, प्रयोगशालामा, सञ्चारगृहमा, मैदानमा लैजानुपर्छ । कलाकार, उद्यमी, किसान, प्राविधिक, चिकित्सक, पत्रकार र विभिन्न पेशाकर्मीहरूसँग भेट गराउनुपर्छ । एउटा वास्तविक भेटले वर्षौँको पाठ्यपुस्तकभन्दा ठूलो सपना देखाइदिन सक्छ ।
एआई युग र मानवता
आज एउटा नयाँ चुनौती र अवसर हाम्रो ढोकामा आइपुगेको छ, एआई । अब विद्यार्थीले केही सेकेन्डमै निबन्ध लेख्न, उत्तर खोज्न, चित्र बनाउन, अनुवाद लगायत गर्न सक्छन् । त्यसैले अब शिक्षाले सूचना मात्र दिनु हुँदैन । सूचना त मेसिनले पनि दिने भयो ।
शिक्षाले त अब विश्व सीप, हृदय र करुणासमेत सिकाउनुपर्छ । सही र गलत छुट्याउने विवेक बुझाउनुपर्छ र सिकाउनुपर्छ । प्रश्न गर्ने साहस र कला, अरूको दुःख बुझ्ने संवेदना, प्रविधिको प्रयोग गर्ने क्षमता तर त्यसको दास नबन्ने चेतना ।
बच्चा र जीवन
शिक्षा भनेको ठूलो भएर के बन्ने भन्ने तयारी मात्र होइन । शिक्षा त अहिले कसरी बाँच्ने भन्ने सिकाइ पनि हो । हार्दा कसरी उठ्ने ? अरूभन्दा फरक हुँदा कसरी आफूलाई स्वीकार गर्ने ? अरूको सफलतामा कसरी खुसी हुने ? आफूभन्दा कमजोरलाई कसरी हात दिने ? गल्ती भएपछि कसरी माफी माग्ने ? आफ्नो कामप्रति कसरी जिम्मेवार हुने ? यी प्रश्नको उत्तर पनि शिक्षामै खोजिनुपर्छ ।
एउटा राम्रो डाक्टरलाई विषयगत ज्ञान चाहिन्छ नै तर बिरामीको डर बुझ्ने हृदय पनि चाहिन्छ । एउटा राम्रो शिक्षकसँग विद्यार्थीको मौनता पढ्ने संवेदना पनि चाहिन्छ । एउटा राम्रो व्यवसायीलाई व्यावसायिक ज्ञान र सीप चाहिन्छ नै, साथै मानिसलाई मानिसकै रूपमा हेर्ने मानवता पनि चाहिन्छ ।
अबको विद्यालय कस्तो होस् ?
विद्यालयमा घण्टी बजोस्, कक्षा होस् र पाठ्यक्रम सकियोस् भन्ने मात्र होइन । त्यहाँ त प्रश्न होस् । बहस होस् । नाटक होस् । कविता होस् । प्रयोग होस् । खेल होस् । परियोजना बनून् । विद्यार्थीले नेतृत्व गरोस् । गल्ती गरोस् । हारेपछि फेरि उठोस् । कहिलेकाहीँ स्टेजमा उभिएर आफ्नै आवाज सुन्न सकोस् । हार्न र बिगार्न सक्ने सामथ्र्य सिकोस् । सबैभन्दा ज्यादा त्यहाँ प्राण होस् ।
हामीले धेरैपटक शिक्षाको कुरा गर्दा रोजगारीको कुरा गर्छौँ । त्यो आवश्यक छ । सीपको कुरा गर्छौँ । त्यो पनि आवश्यक छ । प्रविधिको कुरा गर्छौँ । त्यो झन् आवश्यक छ तर यी सबैभन्दा माथि छ एउटा कुरा, करुणा/मानवता ।
हामी कस्तो मानिस बनाउँदैछौँ ? ज्ञान भएको तर संवेदना नभएको ? सीप भएको तर संस्कार नभएको ? प्रविधि जानेको तर समाज नबुझेको ? सफल भएको तर अरूको दुःख नदेख्ने ?
अब हामीलाई ज्ञान, प्रविधि, रोजगार मात्र भएको शिक्षाले पुग्दैन । हामीलाई यस्तो शिक्षा चाहिन्छ, जहाँ दिमागमा ज्ञान्, हातमा सीप, आँखामा उज्यालो संसार र मुटुमा मान्छे होस् ।
अबको शिक्षाको अन्तिम गन्तव्य प्रमाणपत्र दिनु मात्र होइन, ज्ञान, सीप र करुणाले भरिएको असल मानिस बनाउनु हो ।






![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)









Discussion about this post