Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

‘विशेष पुस्ता’को भ्रममा जेनजी

सुमन रेग्मी by सुमन रेग्मी
अशोज १, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, विचार
0
52
SHARES
Share on FacebookShare on Twitter

जेनजी आन्दोलनले राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा परिवर्तनको बहस सिर्जना गरे पनि त्यसपछिको अपेक्षा र वास्तविकताबीचको दूरीले युवापुस्तामै निराशा बढाउन थालेको छ । तत्काल परिणाम खोज्ने प्रवृत्ति, सामाजिक सञ्जालबाट निर्माण भएको उच्च अपेक्षा र आफूले चाहेअनुसार परिवर्तन नहुँदा देखिएको असन्तुष्टिले जेनजी पुस्तालाई क्रमशः ‘फ्रस्ट्रेसन’तर्फ धकेलेको देखिन्छ ।

हामी र हाम्रो पुस्तालाई ‘डिजिटल नेटिभ’, ‘जुमर्स’ वा ‘जेनजी’ भनिन्छ । स्मार्टफोन, सामाजिक सञ्जाल, युट्युब, टिकटक र एआई हाम्रो जीवनका स्वाभाविक हिस्सा बनेका छन् ।

तर प्रविधिसँग हाम्रो निकटताले मात्रै हामीलाई अघिल्ला पुस्ताभन्दा साँच्चै फरक बनाएको हो त ? भन्नेबारे बहस भएको पाइदैँन ।

अचेल म आफैँ सोच्ने गर्छु– हामीसँग भएको भावनात्मकता, आक्रोश, विद्रोही स्वभाव र परिवर्तनको चाहना हामीभन्दा एक पुस्ता माथिका युवामा थिएन र ? पक्कै थियो । हरेक पुस्ता युवा अवस्थामा भावनात्मक हुन्छ, स्थापित मान्यतामाथि प्रश्न गर्छ, आफूले संसार बदल्न सक्छु भन्ने अठोट राख्छ । समयसँगै जिम्मेवारी थपिँदै जान्छ, अनुभव बढ्छ र विद्रोहको ठाउँमा परिपक्वता आउँछ ।

तर हाम्रो पुस्ताको समस्या अलि फरक छ– हामीलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यमले लगातार ‘विशेष पुस्ता’ भनेर प्रस्तुत गरिरहेका छन् । जेनजी पुस्तालाई परिवर्तनको सबैभन्दा ठूलो वाहक, सबैभन्दा सचेत, सबैभन्दा बौद्धिक र पुराना पुस्ताभन्दा धेरै अगाडि रहेको पुस्ताका रूपमा चित्रित गरिन्छ । यसले हाम्रो (जेनजी)आत्मविश्वास बढाउनुको सट्टा कतिपय अवस्थामा अहंकार बढाइरहेको छ । हामीले ‘हामी फरक छौँ’ भन्ने कुरा यति धेरै सुन्यौँ कि विस्तारै ‘हामीभन्दा राम्रो अरू कोही छैन’ भन्ने भ्रम जन्मिन थाल्यो ।

सामाजिक सञ्जालले हाम्रो आवाजलाई असाधारण शक्ति दिएको छ । एउटा पोस्ट केही घण्टामै लाखौँ मानिससम्म पुग्न सक्छ ।

राजनीतिक विषयमा हामी टिप्पणी गर्छौँ, भिडियो बनाउँछौँ, अभियान चलाउँछौँ र ट्रेन्ड निर्माण गर्छौँ । तर भाइरल हुनु र परिवर्तन गर्नु एउटै कुरा होइन ।

प्यु रिसर्च सेन्टरको एक अध्ययनले युवा पुस्ताको डिजिटल सहभागिता बलियो भए पनि सामाजिक सञ्जालमा राजनीतिक सक्रियता सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने कुरा होइन भन्ने देखाउँछन् । उदाहरणका लागि, एउटा अध्ययनमा १५ प्रतिशत किशोरले मात्र पछिल्लो वर्ष सामाजिक वा राजनीतिक मुद्दामा सामाजिक सञ्जालमार्फत कुनै प्रकारको सक्रिय सहभागिता जनाएको बताएका थिए ।

यसको अर्थ सामाजिक सञ्जाल बेकार हो भन्ने होइन । यसको अर्थ हो– ह्यासट्यागबाट सुरु भएको परिवर्तन संस्थागत सहभागिता, मतदान, संगठन निर्माण, नीति र निरन्तर कामसम्म पुग्नुपर्छ ।

हामीले यो अन्तर बुझ्न आवश्यक छ ।

‘हामीलाई काम मन पर्दैन’ कि कामको संसार नै बदलिएको हो ?

जेनजीबारे अर्को धारणा छ– हामी पुरानो शैलीको काम गर्न चाहँदैनौँ, कसैको अधीनमा बस्न चाहँदैनौँ, आफ्नो व्यवसाय गर्न पनि चाहँदैनौँ र छिटो सफलता चाहन्छौँ ।

यो निष्कर्ष अत्यन्तै सरलिकृत छ ।

डेलोइटको २०२६ ‘जेनजी र मिलेनियल सर्वेक्षण’ले आर्थिक दबाब, जीवनयापनको लागत र भविष्यको अनिश्चितताले जेनजीको निर्णयमा ठूलो प्रभाव पारेको देखाउँछ । सर्वेक्षणमा ५५ प्रतिशत जेनजीले आर्थिक अवस्थाका कारण विवाह, परिवार, व्यवसाय वा थप शिक्षाजस्ता ठूला निर्णय ढिला गरेको बताएका छन् । २५ प्रतिशत जेनजीले तीव्र पदोन्नति र छिटो करियर वृद्धिलाई प्राथमिकता दिएका छन् ।

धेरैले स्थिर र दिगो प्रगतिलाई प्राथमिकता दिएका छन् ।

त्यसैले समस्या ‘काम गर्न नचाहने पुस्ता’ होइन । हामी यस्तो अर्थतन्त्रमा प्रवेश गरेका छौँ जहाँ शिक्षा, रोजगारी, आवास र जीवनयापनको लागतबीच ठूलो दबाब छ ।

नेपालमा अवस्था अझ कठिन छ । राष्ट्रिय तथ्यांक कार्यालयको Nepal Living Standards Survey अनुसार २०२२/२३ मा १५–२४ वर्ष उमेर समूहको बेरोजगारी दर २२.७ प्रतिशत थियो । ILO को Nepal Decent Work Country Programme ले पनि करिब ३५% नेपाली युवाहरू शिक्षा, रोजगारी वा तालिममध्ये कुनैमा संलग्न नभएको अनुमान प्रस्तुत गरेको छ ।

त्यसैले विदेश जाने युवालाई ‘देशप्रति निराश’ भनेर बुझ्नु गलत हुन्छ । जब आफ्नै देशमा पर्याप्त अवसर हुँदैन, विदेश रोज्नु पनि आर्थिक निर्णय हो ।

राजनीतिमा हामीलाई ‘आफ्नै उमेरको नेता’ किन चाहियो ?

हामीलाई आफ्नै जस्तो विचार, भाषा र उमेर भएको नेता मन पर्न थालेको छ । नयाँ राजनीतिक शक्ति, नयाँ अनुहार र तत्काल परिवर्तनको नाराप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

तर यहाँ पनि एउटा खतरा छ । उमेर नयाँ हुँदैमा विचार नयाँ हुन्छ भन्ने छैन । अनुहार नयाँ हुँदैमा शासन क्षमता नयाँ हुँदैन ।

हामीले पुरानो पुस्ताका सबै कुरा अस्वीकार गर्नु हुँदैन । त्यहाँ अनुभव छ, इतिहास छ, संघर्ष छ, संस्थागत ज्ञान छ । त्यस्तै, पुरानो पुस्ताले पनि युवालाई ‘अपरिपक्व’ भनेर हेर्नु हुँदैन । लोकतन्त्रमा पुस्ताबीच प्रतिस्पर्धाभन्दा पनि संवाद र पुस्तान्तरण आवश्यक हुन्छ ।

जेनजीको वास्तविक शक्ति पुरानो पुस्तालाई गाली गर्नुमा होइन, पुरानो पुस्ताको अनुभव र आफ्नो पुस्ताको ऊर्जा जोड्न सक्नुमा हुनेछ ।
हामीलाई एउटा कुरा स्वीकार गर्नैपर्छ– खासगरी हामी सबैभन्दा बौद्धिक पुस्ता होइनौँ । र, हामी सबैभन्दा खराब पुस्ता पनि होइनौँ । मलाई लाग्छ कि, हामी आफ्नो समयको उत्पादन हौँ ।

हामीसँग सूचना धेरै छ, तर सूचना र ज्ञान एउटै होइन । हामीसँग बोल्ने स्वतन्त्रता धेरै छ, तर स्वतन्त्रता र जिम्मेवारी सँगसँगै आउँछन् । हामीसँग प्रश्न गर्ने क्षमता छ, तर प्रश्नसँगै उत्तर खोज्ने धैर्य पनि चाहिन्छ ।

सबैभन्दा ठूलो समस्या यही हो– हामी निर्णय छिटो गर्न चाहन्छौँ, तर सिक्न समय दिन चाहँदैनौँ ।

हामीलाई तत्काल परिवर्तन चाहिन्छ । तर समाज, संस्था, अर्थतन्त्र एकै रातमा बदलिँदैनन् । वास्तविक परिवर्तनको बाटो लामो हुन्छ ।
मेरो विचारमा जेनजी पुस्ताले अब आफ्नो अहंकारभन्दा आफ्नो क्षमता ठूलो बनाउनुपर्छ । सामाजिक सञ्जालमा एक घण्टा बहस गर्नुभन्दा एउटा नयाँ सीप सिकौँ । अरूलाई गाली गर्नुभन्दा उनीहरूको अनुभवबाट सिकौँ । राजनीतिमा नयाँ अनुहार खोज्दा नयाँ विचार र क्षमता पनि खोजौँ । विदेश जाने निर्णयलाई अपराध नमानौँ, तर नेपालमै अवसर निर्माण गर्ने प्रयास पनि गरौँ ।

व्यवसायलाई सानो नठानौँ, श्रमलाई प्रतिष्ठासँग जोडौँ । कसैको नेतृत्व स्वीकार्नु दास हुनु होइन, योग्य व्यक्तिबाट सिक्नु कमजोरी होइन । हामीले आफूलाई ‘विशेष’ भनेर प्रमाणपत्र खोजिरहनु पर्दैन । हाम्रो पुस्ता विशेष छ भने त्यो कामबाट प्रमाणित हुनुपर्छ । आजको पुस्ताको सबैभन्दा ठूलो संकट बेरोजगारी मात्र होइन, दिशाको संकट पनि हो ।

एउटा ठूलो हिस्सा विदेशमा भविष्य खोज्दैछ, अर्को हिस्सा देशमै अवसर खोज्दै संघर्ष गरिरहेको छ । यहीबीच सामाजिक सञ्जालले हामीलाई निरन्तर ‘तिमीहरू परिवर्तनकारी हौ’ भनिरहेको छ ।

आफैँले आफैँलाई कहिलेकाहीँ प्रश्न गरेर सोध्ने हो भने– के हामी साँच्चै परिवर्तनकारी हौँ, कि परिवर्तनको सामग्री मात्र उपभोग गरिरहेका छौँ ?

यदि हामीले आफ्नो अहंकारलाई आत्मविश्वासमा, आक्रोशलाई सिर्जनशीलतामा, सामाजिक सञ्जालको आवाजलाई वास्तविक संगठनमा र ‘मलाई सबै थाहा छ’ भन्ने भ्रमलाई ‘म अझै सिक्दैछु’ भन्ने विनम्रतामा बदल्न सक्यौँ भने अहिलेको जेनजी पुस्ता नेपालको शक्तिशाली पुस्ता बन्न सक्छ ।

तर यदि हामीले आलोचना स्वीकार्न छोड्यौँ, अरूबाट सिक्न छोड्यौँ, श्रमलाई सानो ठान्यौँ, राजनीति र समाजलाई सामाजिक सञ्जालको ट्रेन्डबाट मात्र बुझ्यौँ भने हाम्रो पुस्ताको समस्या अरूले होइन, हामी आफैंले निर्माण गरेका हौँ ।

त्यसैले मेरो पुस्तालाई मेरो आग्रह छ– हामीलाई संसार बदल्नुअघि आफूलाई बदल्न सिकौँ । नेतृत्व गर्नुअघि नेतृत्व गरिसकेकाहरूबाट अनुभव सुनौँ । किनभने, जेनजीको भविष्य हाम्रो उमेरले निर्धारण गर्ने होइन, हाम्रो अनुशासन, सीप, विचार, सहिष्णुता, श्रम र जिम्मेवारीले निर्धारण गर्नेछ ।

लोकतन्त्रमा पुस्ताबीच प्रतिस्पर्धाभन्दा पनि संवाद र पुस्तान्तरण आवश्यक हुन्छ ।

जेनजी विशेष हुन सक्छ, तर विशेष हुनुको प्रमाण उमेर, प्रविधिको पहुँच वा सामाजिक सञ्जालको आवाज होइन । उसको विचार, श्रम, अनुशासन, जिम्मेवारी र परिवर्तनप्रतिको निरन्तर प्रतिबद्धता हो । संसार बदल्ने दाबी गर्नुअघि आफूलाई बदल्न सक्नु नै जेनजीको वास्तविक परीक्षा हो । र, यो परीक्षामा उत्तीर्ण हुने चुनौती भने छदैँछ ।

Tags: #विचारटाकुरा विशेष
सुमन रेग्मी

सुमन रेग्मी

Related Posts

FEATURE BREAKING

किताबको भयदेखि जीवनको लयसम्म

by प्रज्वल पराजुली
अशोज १, २०८३
0

बिहान विद्यालय हिँडेको बच्चाको झोलामा के–के हुन सक्ला ? कापी, किताब, पेन, पेन्सिल, टिफिन बक्स, वाटर बोटल कि अरू केही...

FEATURE BREAKING

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

by केशव खतिवडा
अशोज १, २०८३
0

विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकण, वैश्विक प्रणालीमा आउने फेरबदल, जलवायु परिवर्तन, भू–राजनीति, भू–कुटनीति, सुरक्षा र आतंकवादको नियन्त्रण, आणविक तथा सामुद्रिक...

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.