इटहरी : थारू तथा मधेसी समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सामाचकेवा सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन कार्यक्रम २०८३ आयोजना गरिएको छ।
‘सामाचकेवा संरक्षण गरौँ, थारू संस्कृति र पहिचान पुस्तान्तरण गरौँ’ भन्ने नारासहित मंसिर ६ गते शनिबार इटहरीको पश्चिम लाइनस्थित म्याजिक स्टेजमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी नगर उपप्रमुख संगीता कुमारी चौधरी अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधि, महिला, युवायुवती, स्थानीय समुदाय तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा थारू तथा मधेसी समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने माटोबाट निर्मित विभिन्न आकृति, परम्परागत मूर्ति तथा सांस्कृतिक सामग्री प्रदर्शन गरिएको थियो। सामाचकेवा पर्वसँग सम्बन्धित कला, परम्परा र सांस्कृतिक महत्वलाई उजागर गर्दै मौलिक संस्कृतिको संरक्षणमा जोड दिइएको थियो।

सामाचकेवा तराईका थारू तथा मैथिली समुदायमा प्रचलित महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस पर्वमा माटोका विभिन्न आकृति तथा पात्र निर्माण, परम्परागत गीत, नृत्य र सामूहिक सांस्कृतिक अभ्यासमार्फत दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सामाजिक सद्भाव अभिव्यक्त गरिन्छ।
आधुनिकता र बदलिँदो जीवनशैलीका कारण मौलिक भाषा, कला तथा संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो इतिहास, पहिचान, संस्कार र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका मुख्य उद्देश्य सामाचकेवा पर्वको सांस्कृतिक महत्व र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु, माटोका मूर्ति निर्माण कलाको संरक्षण गर्नु, युवा तथा बालबालिकामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण गर्नुका साथै महिला तथा युवाको सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता बढाउनु रहेको छ।
कार्यक्रम थारू कल्याणकारिणी सभा, इटहरी उपमहानगर कार्यसमिति र नेपाल मधेसी समाज, इटहरी, सुनसरीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा थारू महिला समाज तथा मैथिली महिला मञ्च इटहरीको संयोजन रहेको थियो भने इटहरी उपमहानगरपालिकाले सहयोग गरेको थियो।
बहुसांस्कृतिक पहिचान बोकेको इटहरीमा विभिन्न समुदायका भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव र एकता प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
















Discussion about this post