इटहरी : भारतसँग सीमा जोडिएको सुनसरीको नाकामा ६ सयको संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
सशस्त्र प्रहरी बल ४ नं. गण हेडक्वाटर सुनसरीका अनुसार खुला नाकाबाट हुनसक्ने आवातजावत उपर निगरानी र नियन्त्रणको लागि जनशक्ति खटाइएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलका अनुसार कोरोना महामारीको अवस्था भारतमा भयावह रहेका कारण नेपाललाई पनि नकारात्मक असर पर्ने भएकाले सुरक्षाकर्मी खटाएर निगरानी थालिएको जानकारी दिए ।
‘खुला सीमाबाट हुने आवतजावत रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ,’ उनले भने, ‘इटहरी, धरान लगायतका क्षेत्रमा रहेका जनशक्ति व्यवस्थापन गरेर सीमामा परिचालन गरेका छौँ ।’
सुनसरीको ६२ किलोमिटर भूमि भारतसँग खुला रुपमा सीमा जोडिएको बताउँदै उनले जिल्लाका बर्जु, देवानगञ्ज, कोशी र हरिनगर गाउँपालिकाको नाका भारतसँग जोडिएको र दुईदेशीय रुपमा हुने खुला आवतजावतले जोखिम बढाउने भएकाले नाकामा कडाइ गरिएको जानकारी दिए ।
सीमा क्षेत्रमा सशस्त्रका १० वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेका छन् । पौडेलका अनुसार ९ वटाको संख्यामा फरवार्ड पोष्ट संचालनमा ल्याइएको छ । ती पोष्टमा आवश्यकता अनुसार सुरक्षाकर्मी थप गर्दै लगिने उनले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाएको छ ।
विशेषगरी रातको समयमा चोरबाटोबाट भारतदेखि नेपाल आउनेको संख्या पनि बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको पौडेलले बताए ।
भारतीय सुरक्षाकर्मी एसएसबीसँग समन्वय गरेर जिल्लाको भण्टाबारी नाकामा भने आवश्यक चेकजाँच गरी प्रवेश दिइरहेको उनले बताए । जिल्लाका अन्य नाकाबाट हुने प्रवेश भने शून्यमा झारिने पौडेलले जानकारी दिए ।














Discussion about this post