धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरबासीलाई आग्रह गरेका छन् ।
नगर प्रमुख राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको र एकजनाको मृत्यु समेत भइसकेको छ । कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागू गरेको एक साताको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछु । बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरि पटकपटक हात धुन तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गर्दछु ।’
उनले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजनिक स्थान र स्थलहरुमा भीडभाड भएको देखेमा आफैँले सो भीडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।
‘सम्पुर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीको रुपमा फैलिएको यो कोभिडबाट धरान नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट महत्वपुर्ण भूमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ ।













Discussion about this post