धरान : सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । असार २० गते हुने मतदानको लागि आइतबार तीनजनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यलयका प्रमुख डा. राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराज श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विजय यसअघिको निर्वाचनमा गिरिधारी सापकोटासँग झिनो मतले पराजित उम्मेदवार हुन् भने पवन पूर्व अध्यक्ष हुन् । शिवराज हालका उपाध्यक्ष छन् ।
विजय लोकतान्त्रिक प्यानलका हुन् । यस्तै, शिवराज वामपन्थी प्यानलका हुन् भने पवन अहिलेसम्म स्वतन्त्र उम्मेदवारको रूपमा देखिएका छन् ।
यस्तै, चारजना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । श्रेष्ठ प्यानलका चारजना सदस्य सर्वसम्मत निर्वाचित भएको डा. शर्माले जानकारी दिए ।
एसोसिएट तर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको हो । सर्वसम्मत हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् ।
यस्तै, उद्योग महिलामा १ पदको लागि स्तुति श्रेष्ठको मात्र नाम मनोनयन दर्ता भएपछि उनी पनि सर्वसम्मत भएकी हुन् ।
त्यस्तै, वाणिज्य ८ पदका लागि २१, उद्योग सदस्य ४ पदका लागि ८, वस्तुगततर्फ २ पदका लागि ५ र वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको डा. शर्माले जानकारी दिए ।
आइतबार दर्ता भएको उम्मेदवारी उपर दाबी विरोध र मनोनयन फिर्तापछि १४ गते ३ः३० बजे अन्तिम नामावली प्रकाशित हुने उनले बताए ।
Discussion about this post