इटहरी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रेवतीरमण भण्डारीले क्षेत्रको आर्थिक र सामाजिक विकासका निम्ति आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा सो कुरा बताएका हुन् ।
‘प्रदेश सरकारका प्रायः कानून बनिसकेका छन्,’ उनले भने, ‘अब जनताको अपेक्षा र मेरो भूमिका पनि यस क्षेत्रको अनि प्रदेशको आर्थिक, सामाजिक विकास कसरी हुन्छ भन्नेमा हुनेछ ।’
विकासका लागि उपयुक्त नीति, योजना र कार्यक्रम आवश्यक पर्ने बताउँदै उनले भने, ‘इटहरीको स्थानीय सरकारलाई योजना नीति तथा कार्यक्रम बनाउन सहयोग गरेको थिएँ । अब त्यस्तै योजना नीति तथा कार्यक्रमलाई प्रदेश सरकारको विकासमा र प्रदेश सरकारमार्फत मेरो निर्वाचन क्षेत्रको विकासमा प्रयोग गर्छु ।’
अहिलेसम्म कुनै आर्थिक, नैतिक विवादमा नपरेका, मतदाताहरूसँग सकारात्मक सम्बन्ध राख्ने र सरल जीवनशैली अपनाउने भण्डारीले निर्वाचित भएमा गुरुयोजना बनाएर आफ्नो क्षेत्रको व्यवस्थित विकास गर्ने बताए ।
‘सबै पक्षलाई एकजुट बनाएर स्थानीय र केन्द्रिय सरकारसँग समन्वय गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, आर्थिक र औद्योगिक विकास र पूर्वाधार विकासमा ध्यान दिनेछु,’ उनले भने, ‘यस क्षेत्रका ग्रामिण क्षेत्रमा पूर्वाधार विकास र शहरी क्षेत्रको ढल निकास र खोला नियन्त्रण अनि सुकुम्बासी वस्तीलाई व्यस्थित गर्नेतिर ध्यान दिनेछु ।’
२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका उनी २०७० सालमा भएको संविधानसभा सदस्यको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए
भण्डारी कानूनका ज्ञाता र नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक परिवेश राम्रोसँग बुझ्ने नेता भएकाले उनले संविधान मस्यौदा समितिको सदस्य बनेर काम गरेका थिए ।
‘मलाई त्यतीबेला सुनसरीबासीले यो मानिसले संविधान निर्माणमा योगदान दिन सक्छ भन्ने सोचेर जिताउनुभयो,’ उनले भने, ‘मैले चुनिएर गएपछि आफ्नो क्षमताले भ्याएसम्म सक्रियतापूर्वक भूमिका निभाएँ ।’
सक्रियतापूर्वक काम गर्दा गर्दै पनि उनले २०७४ सालको संघीय निर्वाचनमा टिकट पाएनन् । तर उनको ज्ञान र सीप प्रदेश १ सरकार र इटहरी उपमहानगरपालिकाको कानून निर्माण गर्न प्रयोग भयो ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र इटहरी सरकारको आग्रहमा दुवै तहका महत्वपूर्ण कानून ड्राफ्ट गर्न उनले भूमिका खेलेको बताए ।
अहिले प्रदेशसभा सदस्यका लागि उनका मुख्य प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका द्वारिकलाल चौधरी प्रतिष्पर्धामा छन् ।















Discussion about this post