इटहरी : प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरणपूरा भएको छ ।
इटहरीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । मधेशले लुम्बिनीलाई १६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
समूह ए बाट सुदूरपश्चिम र एपीएफ क्रमशः विजेता र उपविजेताका रूपमा सेमिफाइनल पुग्दा समूह बी बाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।
इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो । उसका लागि साना प्रभिनले ५ चौकाको मदतले अविजित ४६ रन बनाइन् ।
रोजी कदारीले १५ रन जोड्दा मधेशले अतिरिक्त २७ रन पाएको थियो । लुम्बिनीका मनीषा राना, सरस्वती पुन र बिभास्ना बिसीले १–१ विकेट लिए ।
१०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रनमा सीमित रह्यो । लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले समान २१ रनको अविजित पारी खेले । आशा पुलामी मगर र कप्तान सरस्वती जीएमले ११–११ रन बनाउदा लक्ष्मी चौधरीले १२ तथा सरस्वती पुनले १० रन जोडिन् ।
बुधबार नै सम्पन्न दोस्रो खेलमा बागमती प्रदेशले सान्तवना जित निकालेको छ । लगातार २ खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको बागमतीले बुधबार गण्डकी प्रदेशमाथि ३७ रनको जित दर्ता गरेको हो ।
गण्डकी प्रदेश भने सवै खेलमा पराजित हुदै बाहिरिएको छ । समूह ए को यो समूहबाट सुदूरपश्चिम शतप्रतिशत जितका साथ सेमिफाइनल पुग्दा एपीएफ उपविजेताको रूपमा पुगेको छ । इटहरीमा आज भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १३६ रनको लक्ष्य लिएको थियो ।
निर्धारित ओभरमा ५ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो ।












Discussion about this post