विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित ‘कोसी प्रदेश समन्वय परिषद’ को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिदैँ उनले यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय तहका पदाधिकारीहरूलाई निर्देशन दिए ।
प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘आगामी वर्षदेखि प्रदेश सरकारको अर्थमन्त्रालयअन्तर्गत राजस्व महाशाखामार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’
बैठकले प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यहरूको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाडफाँड, स्थानीय तहका आवधिक योजनाहरू निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्यव्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने लगायतका विषयमा विभिन्न निर्णयहरू गरेको छ ।














Discussion about this post