विराटनगर : कोसी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ ।
फागुन १७ मा प्रदेशको कोसी नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन् ।
पहिचानबादीसँग वार्ताका लागि खानेपानी, सिचाई तथा उर्जा मन्त्री तील कुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
सदस्यहरूमा सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहेका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
यसअघि सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले वार्ताबाट समस्या समाधान गर्न र वार्ता समिति बनाएर अगाडि बढ्न आग्रह गर्दा कार्कीले अस्वीकार गर्दै आएका थिए ।
माओवादी केन्द्र र जसपाले प्रदेशका नागरिकको आन्दोलनलाई सुनुवाई गर्न नसकेको भन्ने कारण समेतका आधारमा प्रदेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कार्कीले वार्ता समिति बनाएका हुन् ।












Discussion about this post