विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली सेनाको हाई कमान्डेड एण्ड म्यानेजमेन्ट कोर्स अन्तर्गत तालिम लिइरहेका उच्च पदस्थ सैनिक अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्कीले भने, “राष्ट्रिय हितका पक्षमा सबै एकजुट हुन सके विकास तीव्र गतिमा अघि बढ्नेछ र सुरक्षा चुनौती पनि कम हुनेछ।”
मुख्यमन्त्री कार्कीले विकास र सुरक्षालाई समन्वयका साथ अघि बढाउन सके मात्र समृद्धिको लक्ष्य हासिल हुने धारणा राखे । उनले प्रदेश सरकारको स्थापनासँगै विकासका क्षेत्रमा उल्लेखनीय काम भए पनि त्यसको प्रभावकारी प्रचार–प्रसार हुन नसक्दा आलोचना भइरहेको बताए।
“कोशी प्रदेश सरकारले अन्य तहका सरकारहरूभन्दा बढी काम गरेको छ,” उनको दाबी छ, “हामी त्यो क्षमतालाई अझ विस्तार गर्दैछौं।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सुरु गरिएको पर्यटन वर्ष, पदमार्ग निर्माण, र कृषिमा नयाँ कार्यक्रममार्फत समृद्धिको आधार निर्माण भइरहेको बताए।
यसले राष्ट्रिय पुँजीको विकासमा योगदान पुर्याउने धारणा व्यक्त गर्दै उनले आगामी वर्ष चियाको प्रवर्द्धनका लागि चिया सम्मेलन आयोजना गर्ने जानकारीसमेत दिए।
कार्यक्रममा सहभागी उच्च पदस्थ सैनिक अधिकृतहरूले संघीयता कार्यान्वयन, प्रदेशस्तरीय सुरक्षा चुनौती, विकास निर्माण र विविध समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपाली सैनिक वार कलेजका उपरथी सन्तोष वल्लभ पौडेलले तालिम र यसका विविध गतिविधिबारे प्रकाश पारेका थिए ।












Discussion about this post