विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानवीय कारणले नै मनसुनजन्य विपत्तिको जोखिम बढिरहेको बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित “मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रम”लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक संरचना निर्माणमा वातावरणीय पक्षको बेवास्ताले विपत्तिको रूप लिएको बताए।
“विकासका नाममा वातावरणीय अध्ययन नगरी निर्माण गर्दा, जलवायु परिवर्तनलाई बेवास्ता गर्दा आजका दिनमा प्राकृतिक, आर्थिक र मानवीय क्षति भइरहेको छ,” उनले भने, “यदि अब पनि गम्भीर भइएन भने केही वर्षपछि हामीसँग त्यो क्षति नियन्त्रण गर्ने सामर्थ्य नहुन सक्छ।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपद् व्यवस्थापनका सबै तहमा तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएका छन्। उनले जनचेतना अभिवृद्धि, पूर्वतयारी, प्रतिकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले ५ वर्षे “विपद् व्यवस्थापन रणनीति कार्ययोजना” अघि बढाएको जानकारी दिए। उनले भने, “अति जोखिममा रहेका वस्तीलाई स्थानान्तरण गर्ने तयारी पनि भइरहेको छ।”
उनका अनुसार प्रदेश सरकार संघीय, जिल्ला र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनमा जुटिरहेको छ। स्थानीय समितिहरूलाई अझ प्रभावकारी बनाउनेतर्फ समेत काम भइरहेको उनले बताए।
कार्यक्रममा विभिन्न विज्ञ तथा निकायका प्रतिनिधिहरूले कार्यपत्र प्रस्तुत गरेका थिए। पूर्व सचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोलि”, डीपीनेट अध्यक्ष डा. राजु थापाले “२०८१ सालको मनसुन चित्रहरुमा” शीर्षक कार्यपत्र प्रस्तुत गरे।
त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण”, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी गोमा चेम्जोङले “संघीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” प्रस्तुत गरिन्।
कार्यक्रममा कोशी प्रदेशका विज्ञ राम कुमार दाहाल र यस प्रसाद सुब्बाले “प्रदेशस्तरीय पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना” सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।












Discussion about this post