विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमा नीतिमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (आइतबार) आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले कानुन बनाएर सुविधा दिए पनि नागरिकले त्यसको लाभ लिन नसकेको अवस्था रहिरहे राम्रो सन्देश नजाने बताए।
“राज्यले बीमा कम्पनीहरूलाई नीति र सुविधा दिन्छ, तर नागरिक सेवाबाट वञ्चित हुन्छन् भने त्यो नीति प्रभावकारी हुँदैन,” उनले भने।
उनले बीमा प्रणालीमा आमनागरिकको सहज पहुँचका लागि प्रदेश सरकारले कार्यदल गठन गरेर काम अघि बढाउने योजना रहेको पनि स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले कृषि, पशुपालन तथा स्वास्थ्य उपचारका बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
साथै, गम्भीर रोगहरूको बीमा कार्यक्रमलाई विशेष प्राथमिकता दिइनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनचेतना अभिवृद्धि गर्न र बीमा प्रक्रियालाई सहज बनाउन बीमा कम्पनीहरू जिम्मेवार बन्नुपर्ने बताए।
नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू, बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बीमा कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष ओझाले कोशी प्रदेशमा हाल वार्षिक करिब ३ अर्ब रुपैयाँको बीमा प्रिमियम सङ्कलन हुने र डेढ अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी हुने जानकारी दिए।












Discussion about this post