सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–३ गौतमपुरमा बिहीबार (आज) बिहान जंगलबाट गाउँ पसेको निलगाई भाग्ने क्रममा दुई घरको बीच च्यापिएर मरेको छ।
प्राप्त जानकारी अनुसार बिहान करिब ११स्३० बजे जंगलबाट निलगाई बस्तीभित्र पसेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै प्रहरी टोलीले तत्कालै डिभिजन वन कार्यालय सुनसरीलाई पनि सूचना दिएको थियो।
वन कार्यालयका कर्मचारी पुगेर निलगाई नियन्त्रणमा लिन खोज्दा निलगाई भाग्न थाल्यो।
भाग्ने क्रममा स्थानीय जमाल अन्सारी र सहवाज अन्सारीको घरको बीचमा रहेको टाटीमा च्यापिएर घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीकाअनुसार अनुसार घटनास्थल प्रहरी चौकी गौतमपुरबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। डिभिजन वन कार्यालय सुनसरीले कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
निलगाई संरक्षित वन्यजन्तु मानिन्छ। निलगाईको मृत्युले जैविक विविधतामा क्षति पुगेको छ ।
त्यसको मृत्यु हुनु जैविक सम्पदामा क्षति हुनु हो। उक्त निलगाईको मृत्युले वन्यजन्तुको प्राकृतिक आवास र बासस्थानमा मानवीय हस्तक्षेप बढ्दै गएको संकेत पनि दिएको जानकारहरू बताउँछन् ।














Discussion about this post