भोजपुर : भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् ।
उनले करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आएका उनले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याएको बताए ।
जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ ।
उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनको भनाइ छ । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।
व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट रु १७ लाख ५० हजार अनुदान प्राप्त गर्नुभएको छ । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उहाँको भनाइ छ ।
हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन् ।
व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चारपटकसम्म चिया टिप्न सकिन्छ ।
उनले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन् । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन् ।












Discussion about this post