धरान : निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीमा सांसद बन्ने आकांक्षीहरूको दौडधुप सुरु भएको छ। आकांक्षीहरूबाट बढ्दो दबाबका कारण पार्टी अध्यक्ष हर्क साम्पाङ तनावमा परेको बताइएको छ।
समानुपातिकतर्फ ४ सिट जितेको श्रम संस्कृति पार्टीमा नेताहरू तथा बन्दसूचीमा रहेका उम्मेदवारहरूले सामाजिक सञ्जाल र मिडियामार्फत आफ्नो दाबी प्रस्तुत गर्न थालेपछि विवाद बढ्न थालेको हो।
सांसद चयनको विषयलाई लिएर नेता–कार्यकर्ताले सार्वजनिक रूपमा धारणा राख्न थालेपछि अध्यक्ष साम्पाङले फेसबुकमार्फत कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, “भात खाऊ, मेरो टाउको नखाऊ।”
यस्तै, समानुपातिक सिटका विषयमा सामाजिक सञ्जालमा ‘रोइलो’ गर्ने जो–कोहीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिने चेतावनी पनि उनले दिएका छन्।
पार्टीको बन्दसूचीमा रहेकी समला साम्पाङ राई र आशा लामाले आफूहरू सांसद बन्नुपर्ने भन्दै सार्वजनिक रूपमा दाबी प्रस्तुत गरेका छन्।
प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट पाएको छ।
तर, समानुपातिक सांसद चयन गर्दा आदिवासी जनजाति, खस–आर्य र दलित समूहको समावेशिता मिलाउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले नाम टुंग्याउन अध्यक्ष साम्पाङलाई सकस भएको बताइएको छ।












Discussion about this post