इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ।
शुक्रवार बिहान करिब ४ः१० बजेतिर सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको गस्ती टोलीले भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। गस्ती टोलीलाई देखेपछि मोटरसाइकलमा रहेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।
बरामद गरिएको सामानमा करिब ७ लाख ३० हजार रुपैयाँ बराबरका डबल बेडका तन्ना सेटसहित १२० सेट कपडा, वाइफाइ राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र चार बोरा सुर्ती रहेका छन्।
यसैगरी, को १३ प ७१३४ र बीआर ३९ वाई ०३२२ नम्बरका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।
बरामद मोटरसाइकलसहित सामानको कुल मूल्य करिब ९ लाख ३० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्री सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, सुनसरीमा राखिएको छ भने फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।















Discussion about this post