इटहरी : सुनसरी प्रहरीले दुई दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार शनिबार र आइतबार मातहतका विभिन्न प्रहरी इकाईबाट खटिएको टोलीले इटहरी, भोक्राहा नरसिंह, कोशी गाउँपालिका, दुहवी, बर्जु, देवानगञ्ज र इनरुवा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामग्री, इलेक्ट्रोनिक सामान, पाउडर दूध, मेसिनरी सामान तथा सुन राख्ने बट्टा रहेका छन्।
सबैभन्दा बढी मूल्यका दुई लाख ८८ हजार ५३८ रुपैयाँ बराबरका किराना तथा इलेक्ट्रोनिक सामान दुहवी–५ बाट इलाका प्रहरी कार्यालय दुहवी र सीआरभी दुहवीको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै, इटहरी–१० बाट एक लाख २० हजार रुपैयाँ बराबरका लत्ताकपडा, कोशी गाउँपालिका–८ बाट ६६ हजार ६०० रुपैयाँ बराबरका किराना तथा लत्ताकपडा, इनरुवा–३ बाट ६६ हजार २०० रुपैयाँ बराबरका सुन राख्ने बट्टा, कोशी–८ बाट ३५ हजार ८०० रुपैयाँ बराबरको पाउडर दूध, बर्जु–६ बाट ३३ हजार ३५० रुपैयाँ बराबरका किराना तथा लत्ताकपडा, देवानगञ्ज–४ बाट ३० हजार रुपैयाँ बराबरका मेसिनरी सामान, देवानगञ्ज–२ बाट २४ हजार रुपैयाँ बराबरका किराना सामान र भोक्राहा नरसिंह–३ बाट १४ हजार रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका कुल ६ लाख ७८ हजार ६३८ रुपैयाँ बराबरका सामान आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको छ।













Discussion about this post