बराहक्षेत्र : सप्तकोशी नदीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत श्रीलंका टप्पुको चिलैया तथा गरैया क्षेत्रमा तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
नदीले दैनिक ठूलो क्षेत्रफलको जमिन कटान गर्न थालेपछि करिब पाँच सय घरपरिवार उच्च जोखिममा परेका छन्।
साउन सुरु भएदेखि चिलैया, गरैया लगायतका क्षेत्रमा सप्तकोशीको कटान तीव्र बनेको स्थानीयले बताएका छन्। नदीको बहाव घटबढ हुँदा पानीको छालले बलौटे माटो खोतल्ने क्रम बढेपछि बस्ती र खेतीयोग्य जमिनतर्फ कटान बढेको स्थानीय अर्जुन चन्द्रवंशीले बताए।
कटान तीव्र भएपछि बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाले साउन ५ गतेदेखि स्थानीयको सहभागितामा नियन्त्रणको प्रयास थालेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयको सहभागितामा बाँस, झिक्रासहितका रुखका हाँगा र माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्ध निर्माण गरेर नदीको बहाव मोड्ने प्रयास भइरहेको कटान नियन्त्रण समितिका अध्यक्ष जयराम माझीले बताए।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाले आवश्यक माटो, बोरा लगायतका सामग्री उपलब्ध गराएको छ भने स्थानीय र सुरक्षाकर्मीले श्रमदानमार्फत कटान नियन्त्रणको काम गरिरहेका छन्।
तत्कालका लागि स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिए पनि कटान पूर्णरूपमा रोक्न नसकिएको उनले बताए।
नगर प्रमुख कार्कीले कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, कोशी–बक्राहा कटान नियन्त्रण आयोजना, जिल्ला प्रशासन कार्यालय तथा भारतीय पक्षसँग समेत समन्वय भइरहेको जानकारी दिए।
‘हामी बस्ती र हजारौँ हेक्टर खेतीयोग्य जमिन जोगाउन स्थानीयको सहभागितामा प्रयास गरिरहेका छौँ। तर स्थानीय तहको प्रयास मात्रै पर्याप्त छैन,’ कार्कीले भने, ‘संघीय सरकारले गम्भीर चासो दिन आवश्यक छ। संघीय प्रतिनिधिहरूबाट अपेक्षित सहयोग र चासो नदेखिँदा समस्या भएको छ।’
सप्तकोशीको पश्चिमतर्फको भूभाग कटान बढ्दै गएपछि श्रीलंका टापुका करिब पाँच सय घरपरिवार उच्च जोखिममा परेका छन्।
कटानको जोखिम सुनसरीको टप्पु क्षेत्रमा मात्रै सीमित नभई उदयपुरको बेलका नगरपालिका–१, २ र ३ तथा सप्तरीका कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी र छिन्नमस्ता क्षेत्रमा समेत रहेको स्थानीय तहले जनाएका छन्।
सप्तकोशी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलंका टापु सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ मा फैलिएको छ। टापुका अधिकांश बासिन्दा कृषि तथा पशुपालनमा निर्भर छन्।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोशी कटानको दीर्घकालीन समाधानका लागि संघीय सरकार अग्रसर हुनुपर्ने बताए। नदी कटानका कारण हजारौँ परिवार विस्थापित हुने अवस्था आउँदासमेत संघीय सरकार र संघीय प्रतिनिधिबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।
उनले कोशी कटान नियन्त्रणका लागि प्रदेश र संघीय सरकारसँगै भारतको बिहार सरकारसँग समेत समन्वय गरी दीर्घकालीन योजना बनाउनुपर्ने माग गरे।











Discussion about this post