- माधव पोखरेल गोज्याङ्ग्रे
भोको पेट लिएर मानवहरू याे देशको माथमा
रम्दै छन् दरबारमा धन हुने दुःखी परे जालमा
खानै छैन बिहान साँझ जसको हेर्दै रहेका कति
भोभोभो अति भो कुचाल कति हो माखो नमार्ने रति ।
काला मानवको छ चाल घटिया बिक्री हुने दालमा
गर्दै नाटक यो सयौँ तरहको देखावटी ढालमा
मान्छेले जब मान पाउँछ कतै त्यो मान जोगाउन
आफ्नै रक्त दिएर प्राण भरिलो पार्ने महामानव ।
मान्छेको सपना अनेक थरिका बग्यो सबै भेलमा
गर्छन् ग्यास लुछाचुँडी कपटले छन् ज्यादती तेलमा
मान्छेको मनमा छ भोक अहिले ज्याद्रो हुँदै द्रव्यमा
आफ्नै मासु लुछेर खान्छ कहिले हेर्दै रहाैँ दृश्यमा ।
खालीे पेट लिएर नाटकसरी त्यो प्यास मेटाउन
लाजै छैन कठैबरा घरिघरी रोएर देखाउन
मान्छे बन्न सकेन आज पनि ऊ बेहाल आफ्नै बरा
मान्छे चिन्न सकेन मानव हुँदा बन्दैछ प्यासे चरा ।
कालो काल बनेर यो शहरमा देखिन्छ मान्छे अनि
घुम्दै जान्छ यता उता र घरमा चिन्दैन कोही पनि
भोको पेट छ खान छैन घरमा घुम्दै चरा झैँ छ यो
देखेको सपना थियो रहरको खुसी उजाडी लियो ।
माग्दै हात पसार्छ एक उसले अर्को छ छाम्दै उता
ज्वालाझैँ हुनगो र पेट उसको भौतारियो खै कता
खाली आँ मुख गर्छ भोकसँगले सुन्दैन कोही कतै
दाताको मनभित्र छैन करुणा रौद्रादि छायो जतै ।
……………………………………………………………………..













Discussion about this post